• १६ भदौ २०८१, आइतबार

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

blog

विजेता टिम एपीएफलाई पुरस्कार वितरण गरिँदै । तस्बिर: इमान सीँ राना

इमान सीँ राना

पाल्पा, फागुन २४ गते । प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफ क्लबले जित्न सफल भएको छ । बुधवार भएको फाइनल खेलमा बागमती प्रदेशलाई ३–२ सेटले हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले उपाधि जितेको हो । 

एपीएफले खेलको सुरुवातमा पहिलो र दोस्रो सेट १८–२५, १७–२५ अङ्क सहित गुमाएको थियो । तेस्रो र चौथो सेटमा २५–१९, २५–१७ अङ्क सहितको जित निकाल्दै पुनरागमनका साथ एपीएफले खेललाई बराबरीमा ल्याउन सफल भयो । निकै प्रतिस्पर्धाका साथ भएको खेलको पाँचौँ सेटमा १८–१६ अङ्कको सङ्घर्षपूर्ण जित निकाल्दै लुम्बिनी कपको पहिलो संस्करणको उपाधि हात पार्न सफल भएको हो । 

    पाल्पाको रामपुर स्थित राम तुलसी माविको खेल मैदानमा भएको प्रतियोगिता अवधिभर अपराजित यात्रालाई निरन्तरता दिएको बागमती फाइनलमा पराजित भए सँगै द्वितीय स्थानमा सीमित भएको छ । प्रतियोगितामा लुम्बिनी प्रदेश तृतीय भएको छ ।  तेस्रो स्थान छनौटका लागि भएको खेलमा कोशीलाई ३–० को सोझो सेटमा हराउँदै लुम्बिनी तेस्रो बन्न सफल भएको हो । लुम्बिनीले २५–१०, २५–१६ र २५–२२ अङ्कका साथ जित निकालेको थियो । यस  सँगै कोशी प्रदेशले सान्त्वना स्थानमा चित्त बुझाएको छ । 

     जिल्ला भलिबल सङ्घ पाल्पाको आयोजना र प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवर्द्धन तथा मुख्य प्रयोजनमा गत फागुन १८ देखि सुरु भएको प्रतियोगिताको विजेता टोलीले नगद दुई लाख ५० हजार, द्वितीय हुनेले एक लाख ५० हजार, तृतीय हुनेले ७५ हजार र सान्त्वना हुनेले ३५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

प्रतियोगितामा एपीएफका सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित हुनु भएको छ । त्यस्तै एपीएफका निरुता थगुन्ना उत्कृष्ट सर्भर, महेश चौधरी उत्कृष्ट कोच, बागमतीका प्रगति नाथ उत्कृष्ट सेटर, सलिना श्रेष्ठ  उत्कृष्ट डिफेन्डर, सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर र लुम्बिनीका मिना सुनार उत्कृष्ट स्पाईकर हुनु भएको छ । उत्कृष्ट खेलाडीले नगद १५ हजार र अन्य उत्कृष्ट खेलाडीले १०÷१० हजार प्राप्त गरेका छन् ।

विजेता समूहलाई पुरस्कार वितरण गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले खेलाडीलाई बौद्धिक सम्पत्तिको रूपमा लिनु आवश्यक रहेको बताउनुभयो । लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले पूर्वाधारको अभावमा राष्ट्रिय स्तरका अन्य खेल सञ्चालनमा समस्या भएको भन्दै पूर्वाधार निर्माणमा जोड दिने बताउनुभयो । कार्यक्रममा प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक घिमिरे जिल्लामा राष्ट्रिय स्तरको खेल सम्पन्न हुनु गौरवको विषय रहेको बताएका थिए । छ दिन सम्म भएको प्रतियोगितामा आठ समूहको सहभागिता रहेको थियो ।