• १६ भदौ २०८१, आइतबार

महानगरले किसानलाई दियो २७ लाख

blog

फडिन्द्र अधिकारी 

लेखनाथ, फागुन २४ गते । पोखरा महानगरपालिकाले कृषिजन्य उत्पादनको लागतमा नोक्सानी बेहोरेका १६ कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य दिएको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्यले ती फार्मलाई समर्थन मूल्यबापत कुल २६ लाख ७९ हजार सात सय ६१ रुपैयाँ प्रदान गर्नुभएको हो । 

महानगरपालिकामा उत्पादन भएका र तोकिएको मूल्य नपाएका कृषकलाई ऊर्जा दिन रकम हस्तान्तरण गरिएको हो । २५ हजार चार सय १७ केजी गोलभेँडा, ६० हजार चार सय ४१ केजी च्याउ, नौ हजार पाँच सय २० केजी सिमी र दुई ९१ केजी कोदोको समर्थन मूल्यबापतको रकम हस्तान्तरण गरिएको हो । 

भुर्जङखोला च्याउ फार्म पोखरा १९ की सुष्मा सुनार गहतराजले तीन लाख ६२ हजार नौ सय २० र चिसापानी च्याउ फार्म पोखरा २२ का सन्दीपबहादुर क्षेत्रीले चार लाख ८५ हजार नौ सय ४० रुपैयाँ पाउनुभएको छ । शोभा अर्ग्यानिक मल्टी एग्रो फार्म पोखरा २६ का मुकुन्द खड्कालाई.तीन लाख १७ हजार ४४ र ग्रिन मसरुम फार्म पोखरा २४ का चोविन्द्रबहादुर कुँवरलाई तीन लाख एक हजार सात सय ४० रुपैयाँ समर्थन मूल्य प्रदान गरिएको छ । अरू १४ फारमले पनि समर्थन मूल्य पाएका छन् । 

महानगर प्रमुख आचार्यले किसानको साथमा पोखरा महानगरपालिका रहेको विश्वास दिलाउनुभयो । उहाँ भन्नुहुन्छ, “कृषि उपज सुरक्षित ढुवानीका लागि कृषि एम्बुलेन्स र समर्थन मूल्यको व्यवस्था गरेका छौँ, तपाईँहरू उत्पादन वृद्धिमा लाग्नुहोस्, महानगरपालिका साथमा छ ।” पोखरा महानगरपालिकाले ३५ कृषि उपजको समर्थन मूल्य तोकेको छ ।