• १३ साउन २०८१, आइतबार

पत्रकारितामा भविष्य खोज्दै किशोरी

blog

घोडाघोडी समाचारदाता

सुखड (कैलाली), फागुन २४ गते । कञ्चनपुरकी रक्षा भट्ट पत्रकारितामा लागेको पाँच वर्ष बित्यो । पत्रकारितासँगै  अध्ययनलाई निरन्तरता दिँदै आउनुभएकी भट्टले स्नातक तहसम्मको पढाइ सक्नुभएको छ । 

२०७५ सालमा रेडियो सुदूर सञ्चार, दिनेश एफएम हुँदै पछिल्लो समय अत्तरिया अनलाइनमा कार्यरत भट्टले पत्रकारितामै आफूले भविष्य खोजेको बताउनुभयो । उहाँ पछिल्लो समय विभिन्न तालिम तथा लेखनवृत्ति अवसर पाएर लेखनकलामा निखार ल्याउने प्रयासमा रहेको बताउनुहुन्छ । 

पत्रकार महिलाको नेतृत्व विकाससम्बन्धी कार्यक्रममा भाग लिन डोटी आइपुगेकी भट्टले पत्रकारिता सुरुवातको अनुभव सुनाउँदै भन्नुभयो, “स्टाफ नर्स बन्ने इच्छा थियो तर स्थानीय रेडियोमा जोडिएपछि पत्रकारिता छोड्न मन लागेन ।”

बेलौरीकी चन्द्रिका चौधरी बेलौरी एफएममा स्टेसन म्यानेजर हुनुहुन्छ । उहाँले पत्रकारिता सुरु गरेको पाँच वर्ष अवधि र स्टेसन म्यानेजर भएको अनुभव सुनाउनुभयो । 

रेडियो सुन्दा चौबिसै घण्टा रेडियोभित्र मानिस कसरी बस्छन् होला भन्ने कौतूहलबाट पत्रकारितामा प्रवेश गरेको उहाँले बताउनुभयो । चन्द्रिकाले सुरुमा सङ्घर्ष गरे पनि अहिले आर्थिक रूपमा पनि पत्रकारितामा सन्तुष्ट हुनुहुन्छ । 

पत्रकारितामा महिलाको नेतृत्व विकास संवाद कार्यक्रममा भाग लिन अछाम साँफेबगरबाट आउनुभएकी भगवती कुँवर २०७८ सालदेखि साँफेबगर रेडियोमा काम गर्नुहुन्छ । घरमा बुवाआमाले रेडियो सुन्ने गरेको र आफू पनि गीत गाउन रुचि राख्ने भएपछि रेडियोमा काम गर्न पुगेको अनुभव उहाँले सुनाउनुभयो ।

उहाँले पत्रकारितासम्बन्धी तालिम नलिए पनि अहिले रेडियोमा कार्यक्रम चलाउने, समाचार पढ्ने, प्राविधिकको काम गर्दै आउनुभएको छ । भगवती भन्नुहुन्छ, “मैले पहिलो पटक कम्प्युटर चलाउन पाएको रेडियोमा हो, सुरुमा चलाउन पनि आउँथेन । अहिले प्राविधिकको काम गर्छु, कार्यक्रम आफैँ बनाउँछु, म अब यो क्षेत्रलाई छोड्न सक्दिनँ, यसैमा भविष्य बनाउने छु ।”

अछामकै कमलबजार एफएममा काम गर्ने कविता भाटले पत्रकारिता क्षेत्रमा काम गर्न लागेको डेढ वर्ष भएको छ । उहाँले पत्रकारिता क्षेत्र आफूलाई एकदमै रुचिको क्षेत्र भएको र खाना नखाएर काम गरेको अनुभव सुनाउनुभयो । 

कविताले भन्नुभयो, “अहिलेसम्म उचित पारिश्रमिक पाएको छैन, दामभन्दा नि नाम कमाउनु सकिन्छ कि भन्ने हो, यो क्षेत्रमा आफूलाई अब्बल बनाउँदै यसैमा भविष्य खोजेको छु ।” बैतडीकी रितु ओझाले मेलौली एफएममा काम गर्न थालेको तीन वर्ष भयो, उहाँले पनि यो क्षेत्रलाई बुझेर काम गर्न थालेकाले यसैमा आफूलाई स्थापित गराउने बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका करिब ३० जना महिला पत्रकारले अनुभव सुनाउँदै गर्दा अधिकांशले रेडियो एफएममा काम गर्ने गरेको पाइयो । बिनापारिश्रमिक र बिनानियुक्तिपत्र काम गरिरहेका नवप्रवेशी महिला पत्रकारमा व्यावसायिक भन्ने हुटहुटी देख्न सकिन्थ्यो ।  नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका सदस्य उन्नति चौधरीले हरेक चुनौतीलाई सामना गर्ने क्षमता राख्दै गएमा नयाँ जोस र जाँगरका साथ पत्रकारिता क्षेत्रमा महिलाको भविष्य राम्रै बन्ने बताउनुहुन्छ । पत्रकार महासङ्घ केन्द्रीय समितिका अनुसार सुदूरपश्चिम प्रदेशमा एक हजार १४२ जना सदस्य सङ्ख्यामध्ये १६९ जना पत्रकार महिला रहेका छन् ।