• १६ भदौ २०८१, आइतबार

दस अर्बको आइरन स्टिल निर्यात

blog

काठमाडौँ, फागुन २४ गते । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा १० अर्ब रुपियाँ बराबरको आइरन, स्टिल निर्यात भएको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार सात महिनामा (साउन–माघ) आइरन, स्टिल ८५ प्रतिशतले बढेर १० अर्ब १२ करोड २० लाख रुपियाँको निर्यात भएको हो । गत वर्ष सो अवधिमा भने जम्मा पाँच अर्ब ८५ करोड रुपियाँको निर्यात भएको थियो । स्वदेशी अधिकांश वस्तुको निर्यात घटिरहेका बेला आइरन स्टिलको निर्यातमा भने उल्लेख्य वृद्धि भएको छ ।  

सात महिनामा मुलुकबाट ८६ अर्ब ८३ करोड रुपियाँ बराबरको कुल सामान निर्यात भएको हुँदा सबैभन्दा धेरै निर्यात आइरन स्टिलको भएको हो । निर्यातमा आइरन र स्टिलको हिस्सा ११ प्रतिशत रहेको छ ।

सात महिनाको अवधिमा गत वर्षभर भएको निर्यात बराबरको निर्यात भएको छ । गत वर्ष आइरन स्टिलको निर्यात १० अर्ब ८२ करोड रुपियाँ बराबरको भएको थियो । 

चालु वर्षको आइरन र स्टिलको निर्यातमा सबैभन्दा बढी जस्तापाताको हिस्सा रहेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार सात महिनामा सबैभन्दा धेरै सात अर्ब रुपियाँ बराबरको जस्तापाता निर्यात भएको छ । जस्तापाता, जिआई पाइप, किचन सामग्रीलगायतका आइरन र स्टिलमा केन्द्रित सामानहरू नेपालबाट भारत निर्यात हुने गरेका छन् । व्यवसायीले आइरन स्टिलको कच्चा पदार्थ आयात भारतबाट गरेर पुनः सामान उत्पादन गरेर निर्यात गर्ने गरेका छन् । 

नेपालको सबैभन्दा बढी अन्तर्राष्ट्रिय व्यापार हुने वस्तुमध्ये आइरन स्टिल पर्छ । चालु आवको सात महिनामा सिमेन्टको निर्यातमा उलेख्य वृद्धि भएको छ । सात महिनाको अवधिमा सिमेन्ट तथा क्लिङ्करको निर्यात दुई अर्ब छ करोड रुपियाँ बराबरको भएको छ । गत वर्ष सात महिनाको अवधिमा १६ करोड ७० लाख रुपियाँ बराबरको निर्यात भएको थियो ।

सात महिनामा एक अर्ब ७७ करोड रुपियाँको सिमेन्ट निर्यात भएको छ । गत वर्ष सो अवधिमा ३५ करोड ८९ लाख ५१ हजार सिमेन्ट निर्यात भएको थियो । सात महिनामा ९८ करोड ३७ लाख ९३ हजार रुपियाँको क्लिङ्कर निर्यात भएको छ । गत वर्ष सो अवधिमा ४२ करोड ३५ लाख रुपियाँको क्लिङ्कर निर्यात भएको थियो ।