• १३ साउन २०८१, आइतबार

सतचालिस वर्षदेखि आफन्त खोज्दै भीमबहादुर

blog

जीविका चलाउन दाउरा बेच्दै भीमबहादुर थापा ।

गोकर्ण दयाल

बैतडी, फागुन २४ गते । सडकले कैयौँ मानिसलाई जोड्छ तर यही सडकमा आफन्त छुटेकाको जीवन भने क्षितिज पारि डुब्न लागेको घाम जस्तो बन्ने कुरा भीमबहादुर थापाको पीडाले पुष्टि गर्छ । बाल्यकालमै सडकमा छुटेका मजदुरका छोरा थापाले ४७ वर्षसम्म आफन्त भेटाउन सक्नुभएको छैन । बाल्यकालका धमिला सपना बोकेर उहाँ अहिले आफन्त सम्झेर रोइरहनुभएको छ ।  २०३३ सालमा सडक खन्न दाङबाट मजदुरका रूपमा बैतडी आएका आफन्तसँग सडकमै विछोड भएको थापाले बताउनुभयो । “बाल्यकालमै सडकमा छुटेँ,” उहाँले भन्नुभयो, “४७ वर्षदेखि आफन्तको सम्झनामा दिन बिताउँदै बसेको छु ।”

दशरथचन्द नगरपालिका–४, कठपतेमा स्थानीयको एक घरमा आश्रय लिएका उहाँलाई खोजी गर्न कोही नआएको पीडा सुनाउनुभयो । दाउरा बेच्न बैतडी सदरमुकाम पुग्नुभएका भीमबहादुरले आफ्नो घरको ठेगाना र आफन्तको नाम थाहा नभएको बताउनुभयो ।  उहाँले आफन्तले छाडेर गएको सडक किनारकै एक स्थानीयको घरमा काम गरेर जीवन बिताइरहेको पीडा सुनाउनुभयो । उमेरले वृद्ध देखिनुहुने भीमबहादुर अविवाहित हुनुहुन्छ । दाउरा बेच्न सदरमुकाम आउँदै गरेको अवस्थामा भेटनुभएका भीमबहादुर जाडोले कामिरहनुभएको थियो । 

“आमाको अनुहार सम्झना छैन । सायद म सानै छँदा बित्नुभयो कि ? बुवासहितका नातेदारसँग बैतडी पुगेको याद छ । सडक खन्ने काम सकेर आफन्त फर्केको भन्छन् । मलाई किन यतै छाडेर जानुभयो ? केही थाहा छैन । खोजी गर्न कसैले सहयोग गरेनन् । मजदुरको आफ्नो भन्ने कोही नहुने रहेछ,” आँखाका डिलबाट चाउरी परेका गालामा आँसु खसाल्दै उहाँले भन्नुभयो । उहाँले आमाबाबुका बारेमा बेखबर भएकाले हालसम्म नागरिकता पनि बन्न नसकेको गुनासो गर्नुभयो । “आफ्नै देशमा अनागरिक भएको  छु । दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउँदै छु,” उहाँले भन्नुभयो । 

भीमबहादुरका बारेमा स्थानीय अमृत ठगुन्नाले होटलमा खाएको उधारो तिर्न नसक्दा भीमबहादुरका आफन्तले पैसा लिएर आउँछु भनी छाडेर गएको बताउनुभयो । उहाँले भन्नुभयो, “२०३२/३३ सालको कुरा हो । कठपतेबाट बैतडी सदरमुकामको सडक खन्ने काम भइरहेको थियो । ठेकेदारले दाङबाट कामदार ल्याएका थिए । उनीहरू सडकमै बसेर काम गर्थे । ती मजदुर सडकको काम सकेर फर्केपछि भीमबहादुरलाई छाडेर गएका हामीले थाहा पायौँ । त्यसपछि भीमबहादुरलाई स्थानीय पाण्डेयले आश्रय दिएका हुन् ।”