• १६ भदौ २०८१, आइतबार

पत्रकार धितालको पुस्तकमाथि संवाद

blog

पत्रकार मनऋषि धितालको पुस्तकमाथि चर्चा गर्नुहुँदै वरिष्ठ पत्रकार तथा विश्लेषक नरेन्द्रजङ्ग पीटर । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, फागुन २३ गते । पत्रकार मनऋषि धितालले लेख्नुभएका जनयुद्धकालीन आधा दर्जनबढी पुस्तकमाथि नेपालगन्जमा संवाद गरिएको छ । पत्रकार धितालले लेख्नुभएका जनयुद्धकालीन डायरीमा समावेश गुफा प्रेसका चिठी, जेलयात्रा, बेनीयात्रा, आधारयात्रा, राजमार्ग यात्रा र गण्डक यात्रा पुस्तकमाथि बुधवार नेपालगन्जमा संवाद गरिएको हो ।

कार्यक्रममा वरिष्ठ पत्रकार तथा विश्लेषक नरेन्द्रजङ्ग पिटरले गण्डक यात्रा, साहित्यकार लेख प्याकुरेलले राजमार्ग यात्रा, पत्रकार तुला अधिकारीले जेलयात्रा, राजनीतिकर्मी दुर्गाबहादुर चौधरीले पिलीयात्रा, साहित्यकार शशिराम कार्कीले गुफा प्रेसका चिठी, प्राध्यापक तथा साहित्यकार खोपीराम ओलीले बेनीयात्रा, पत्रकार शङ्कर खनालले आधारयात्रा पुस्तकमाथि टिप्पणी गर्नुभयो । 

साहित्यकार खोपीराम ओलीले पुस्तकमा जनयुद्धकालीन समयको अवस्था परिस्थिति जस्ताको तस्तै उतारिएको बताउनुभयो । उहाँले पुस्तक पढ्ने पाठक आफैँ जनयुद्धमा सहभागी भएको प्रत्यक्ष अनुभूति गराउन सफल रहेको बताउनुभयो । पुस्तकभित्र वास्तविक अनुभूति, रोदन, कौतुहलता तथा रोदन सोमवश गरिएको बताउनुभयो ।

साहित्यकार लेख प्याकुरेलले पुस्तक उपयुक्त कृति बन्न सफल भएको बताउनुभयो । उहाँले पुस्तकका पात्रहरू रहर, कहर र अवसर सबै प्रकारले जोडिएको भन्दै उक्त समयमा घटेका वास्तविक घटनालाई यथार्थपरक ढङ्गबाट प्रस्तुत गरिएको बताउनुभयो । उहाँले जनयुद्धकालीन विवाहमा एउटा कापी, कलम र किताब उपहार दिएर सम्पन्न भएको इतिहास स्मरण गरिएको भन्दै अहिलेका विवाहमा गरिने भड्किलो खर्च कटौती गरी सोही अनुसार गर्न पनि किताब शिक्षाप्रद हुने बताउनुभयो ।

पत्रकार शङ्कर खनालले पुस्तकले इतिहास जोगाउन सफल रहेको बताउनुभयो । उहाँले दशकौँ अगाडीको जनयुद्धलाई अहिलेका पुस्ताले ताजा रूपले बुझ्न पाएको धारणा राख्नुभयो ।

पत्रकार तुला अधिकारीले तत्कालीन जेलभित्रका घटनाहरू अहिलेका पाठकहरूले जेलको अनुहार दुरुस्तै देख्न सक्ने बताउनुभयो । राजनीतिकर्मी दुर्गाबहादुर थारुले यी पुस्तकहरू पढ्दा आफूलाई पनि विगत सम्झना आएको र लेख्नका लागि प्रोत्साहन तथा उत्प्रेरणा मिलेको बताउनुभयो । 

वरिष्ठ पत्रकार तथा विश्लेषक नरेन्द्रजङ्ग पीटरले पुस्तक अणु तथा परमाणु भएको बताउनुभयो । उहाँले पुस्तकमा युद्धनीतिक, राजनीतिक तथा दार्शनिकरुपमा इतिहास बोलेको बताउनुभयो । 

पुस्तकका लेखक पत्रकार मनऋषि धितालले आफू केवल जनयुद्धका अनुभूति बाँड्ने हुलाकी भएको बताउनुभयो । पुस्तकहरू कल्पना नगरी वास्तविक रूपले तथ्यका आधारमा लेखिएको भन्दै धितालले कतिपय पुस्तकका पात्रहरूसँग पुनर्मिलन समेत भएको स्मरण गर्नुभयो । 

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य महेश्वरजङ्ग गहतराज ‘अथक’ ले जनयुद्धका बलमा देशमा राजनीतिक परिवर्तन आएको बताउनुभयो । समावेशीता, धर्म निरपेक्षता, सङ्घीयता, समानुपातिकलगायतका व्यवस्थाहरू जनयुद्धका कारण आएको भन्दै १० बर्षे जनयुद्धलाई अहिलेका पुस्ताले पुस्तकमार्फत जस्ताको तस्तै अनुभूति गर्न सक्ने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार जे पाण्डे, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा समीक्षक शशिराम कार्की, माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’, नेकपाका पोलिटब्युरो सदस्य बन्धु ‘सी’ लगायतले पुस्तकमाथि चर्चा गर्नुभएको थियो ।