• १६ भदौ २०८१, आइतबार

सरकारमा सहभागी हुन नेकपा एस सकारात्मक

blog

नेकपा (एकीकृत समाजवादी)को बुधबार बसेको सचिवालय बैठक । तस्बिर :गोरखापत्र

काठमाडौं, फागुन २३ गते । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने/नहुने विषयमा अनिर्णीत भएको छ । बुधबार बसेको सचिवालय बैठकले सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक रहेको तर निर्णय भने गरी नसकेको बताएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाकाअनुसार पार्टीले सरकारमा सहभागी हुन केही सर्त अघि सारेको छ । जसमा सरकारले देशको आर्थिक सङ्कटको समाधान गर्दै उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न, राष्ट्रियताको रक्षा र संवर्द्धन गर्न, भ्रष्टाचारको अन्त्य तथा सुशासनको स्थापना गर्न, महँगी नियन्त्रण लगायत जनताका समस्याहरूको समाधान गर्ने र सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्ने भएमात्रै सरकारमा सहभागी हुने भएको हो ।

‘‘प्रधानमन्त्रीले नयाँ समीकरणको आरम्भ गरेपछि हाम्रो पार्टीसँग नयाँ समीकरणमा सरकारको गठन र सञ्चालन तथा नीति कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) समान सहभागिता र भूमिका रहने प्रस्ताव गर्नुभएको सन्दर्भमा बैठकमा छलफल भयो । उक्त प्रस्तावलाई सकारात्मक रूपले लिँदै प्रधानमन्त्रीसँग निम्न विषयमा छलफल गरेपछि आवश्यक निर्णय गरिन्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘देशको आर्थिक सङ्कटको समाधान गर्दै उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न यस विषयमा । राष्ट्रियताको रक्षा र संवर्द्धन गर्ने । भ्रष्टाचारको अन्त्य तथा सुशासनको स्थापना गर्ने विषयमा । महँगी नियन्त्रण लगायत जनताका समस्याहरूको समाधान गर्ने र सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्नेगरी महत्त्वपूर्ण विषयमा एक पटक छलफल गरेर मात्रै आवश्यक निर्णय गर्ने छ ।’’

पार्टीले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने/नहुनेबारे गठबन्धनमा सहभागी राजनीतिक दलहरूसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिएको उहाँले बताउनुभयो ।