• १६ भदौ २०८१, आइतबार

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता ताप्लेजुङमा

blog

थेचम्बुस्थित पाथीभरा याङ्वरक गाउँपालिकाको कार्यालयत । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले स्थापना दिवसको अवसरमा प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाको सातौँ स्थापना दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागिएको हो । 

गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाका अनुसार कोशी प्रदेश, ताप्लेजुङ जिल्ला र पालिकास्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको तयारी गरिएको हो । प्रतियोगिता यही फागुन २७ देखि ३० गतेसम्म सञ्चालन गर्नेगरी तयारी गरिएको अध्यक्ष सुब्बाले जानकारी दिनुभयो ।

प्रशासकीय केन्द्र थेचम्बूमा गाउँपालिकाले भर्खरै निर्माण गरेको ब्याडमिन्टन भवनको उद्घाटन पनि यही समयमा हुने र प्रतियोगिता नवनिर्मित भवनमा सञ्चालन गरिने उहाँले बताउनुभयो । गाउँपालिकाका अनुसार कोशी प्रदेश स्तरीय मेन्स डबल्स (सिनियर) र भेट्रान्स डबल्स (४५ वर्षमाथि) ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । 

मेन्स डबल्सतर्फ विजेताले ३० हजार तथा उपविजेताले २० हजार रुपियाँ नगद पुरस्कार पाउने छन् । यस्तै भेट्रान्स डबल्सतर्फका विजेताले २० हजार र उपबिजेताले १५ हजार रुपियाँ नगद पुरस्कार पाउने गाउँपालिकाले जनाएको छ । यस्तै जिल्लास्तरीय कर्मचारी डबल्स, मिक्स डबल्स र मेन्स डबल्स (जुनियर) र जनप्रतिनिधि डबल्स विधाको प्रतियोगितासमेत सञ्चालन हुने भएको छ । 

जिल्लास्तरीय कर्मचारी डबल्सका विजेताले २० हजार रुपियाँ र उपविजेताले १५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । मिक्स डबल्सका विजेताले १५ हजार रुपियाँ र उपविजेताले १० हजार रुपियाँ नगद पुरस्कार पाउने भएका छन् । मेन्स डबल्स (जुनियर)का विजेताले २० हजार र उपबिजेताले १५ हजार, जनप्रतिनिधि डबल्सका विजेताले १५ हजार तथा उपबिजेताले १० हजार रुपियाँ पुरस्कार पाउने गाउँपालिकाले जनाएको छ ।