• १६ भदौ २०८१, आइतबार

नेपाली फुटबल विकासमा सहकार्यका लागि ला लिगा उत्साहित

blog

स्पेनका लागि नेपाली राजदुत सर्मिला पराजुली ढकाल र स्पेनिस ला लिगाका अध्यक्ष हाभियर टेबास मेड्रानो भेट गर्दै ।

काठमाडौँ, फागुन २३ गते । स्पेनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र स्पेनिस ला लिगाका अध्यक्ष हाभियर टेबास मेड्रानो बिच नेपाली फुटबलमा सहकार्यको विषयमा छलफल भएको छ । 

भेटमा ला लिगाका अध्यक्ष मेड्रानोले खेलकुदको माध्यमबाट नेपाल र स्पेनलाई जोड्ने राजदूत ढकालको प्रयासको प्रशंसा गर्दै नेपाली फुटबल विकासका लागि सहकार्य गर्ने प्रस्ताव राख्नुभएको थियो । म्याड्रिडस्थित ला लिगाको मुख्यालयमा मङ्गलबार करिब एक घण्टा भएको भेटका क्रममा राजदूत ढकालले ला लिगाका अध्यक्ष मेड्रानोलाई नेपाल भ्रमणको निम्तो समेत दिनुभएको थियो । 

‘‘उहाँ नेपाल भ्रमणका लागि निक्कै उत्साहित हुनुहुन्छ । उहाँको नेपाल भ्रमण चाँडै सम्पन्न हुनेछ । नेपाली फुटबलको विकासका लागि सहकार्य गर्न ला लिगाका तर्फबाट उहाँले तत्परता जनाउनुभएको छ,’’ राजदूत ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘ला लिगाको चाहना समग्र नेपाली फुटबलको विकासमा सहकार्य गर्नेछ । तथापि महिला फुटबलमा सहकार्य अलि बढी केन्द्रित गर्ने उहाँको इच्छा छ ।’’

राजदूत ढकालका अनुसार भेटमा नेपालमा ला लिगाको सहयोगमा एकेडेमी बनाउने तथा नेपाली फुटबललाई प्राविधिक रूपमा सशक्त बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको थियो । नेपालमा स्पेनिस फुटबलको ‘फ्यान बेस’ निक्कै राम्रो भएको कारण पनि ला लिगा सहकार्यका लागि उत्साहित भएको राजदूत ढकालको बुझाई छ । 

भेटका क्रममा ला लिगाका अध्यक्ष मेड्रानोले भौगोलिक रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका लागि निक्कै राम्रो ठाउँ भएको बताउँदै निकट भविक्ष्यमै सहकार्यको थालनी गरिने बताउनुभएको थियो । सो क्रममा अध्यक्ष मेड्रानोले राजदूत ढकाललाई ला लिगाको आधिकारिक बल उपहार दिनुभएको थियो ।

नेपाली राजदूतावासको पहलमा गत वर्ष स्पेनको दोस्रो डिभिजनको क्लब कासेरेन्यो एफसीले दुई मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमण गरेको थियो ।