• १६ भदौ २०८१, आइतबार

रेसुङ्गा विमानस्थलमा प्रहरी पोष्ट

blog

रमेश विश्वकर्मा
गुल्मी, फागुन २३ गते । 
गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल प्रहरीको एक पोष्ट बस्ने भएको छ । गत वैशाख महिनाको अन्तिम सातादेखि नियमित उडान सुरु भएको यस विमानस्थलको सुरक्षाका लागि नेपाल प्रहरीको एक पोष्ट बस्ने भएको बताइएको छ ।

यस विमानस्थलमा उडान हुने दिनमा मात्र प्रहरी पठाएर सुरक्षा दिने काम भइरहेको छ । सुरक्षा र विमानस्थलको संवेदनशीलतालाई मध्यनजर गरेर दीर्घकालीन रूपमा २४ सैं घण्टा विमानस्थलको सुरक्षा गर्न लागिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।

यहाँ अस्थायी पोष्ट राख्ने गरी निर्णय भइसकेको छ । पोस्ट राख्ने ठाउँको अभाव भएको हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रशासन कार्यालयबाट पत्राचार गरिएको भन्दै मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा स्थान उपलब्ध गराई प्रहरी चौकी राख्न थालिएको बताउनुभयो ।

क्यानको अन्य विभिन्न सामग्रीहरूको सुरक्षाका लागि पनि दीर्घकालीन रूपमा सुरक्षाकर्मी राख्नुपर्ने आवश्यक देखिएको भन्दै प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन लागिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । विमानस्थलसंगै यहाँका नागरिकलाई सहज रूपमा सुरक्षा प्रदान गर्न सहज हुने उहाँको भनाइ छ ।

यस विमानस्थलमा प्रहरी पोष्ट राख्नका लागि रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मासहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले अनुगमन समेत गर्नुभयो । विमानस्थलसँगै यस नगरपालिकाको वडा नम्बर– १० र ११ को सुरक्षामा समेत टेवा पुग्ने अनुगमनका क्रममा नगरप्रमुख पन्थीले बताउनुभयो ।

रेसुङ्गा विमानस्थलका लागि काठमाडौँबाट बिहान ६ः३० बजे र यहाँबाट काठमाडौँका लागि बिहान ७ः४० बजे उडान गर्ने समय तालिका छ । काठमाडौँदेखि रेसुङ्गा विमानस्थलका लागि सात हजार २८० रुपियाँ र यहाँदेखि काठमाडौँका लागि सात हजार ८० रुपियाँ भाडादर कायम गरिएको छ ।

यस विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले २०८० वैशाख २९ गतेदेखि नियमित उडान भर्ने गरेको छ । अहिलेसम्म हप्तामा दुई पटक मात्रै उडान हुँदै आएकोमा हप्तामा चार पटक उडानका लागि पहल गरिएको बताउनुभयो ।