• १६ भदौ २०८१, आइतबार

उर्लाबारी आगलागीका घाइतेको उपचारमा कोशी प्रदेश सरकारको समन्वय

blog

शशिधर पराजुली

विराटनगर, फागुन २३ गते । कोशी प्रदेश सरकारले उर्लाबारी आगलागीका घटनामा घाइते स्थानीयहरुको उपचार गरेका अस्पतालहरुलाई रकम भुक्तानी गर्ने निर्णय गरेको छ। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले आगलागीका घटनामा परी घाइते भएकाहरुको उपचार गरेवापत बाँकी रहेको उपचार खर्च अस्पतालहरुलाई भुक्तानी दिने निर्णय गरेको हो । 

आगलागीमा परि एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको र चार जनाको मृत्यु भएपछि प्रदेश सरकारले सबै घाइतेको उपचार खर्च व्यहोर्ने जनाएको थियो । 

बैठकले प्रदेश नं. १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिसँग भएको वार्ताका आधारमा वार्ता समितिले तयार पारेका विभिन्न एजेण्डामा छलफल गरी आवश्यक निर्णय लिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री शम्सेर राईले जानकारी दिनुभयो । मुख्यमन्त्रीका प्रेस सल्लाहकार देवनारायण साहका अनुसार वार्ता समितिले प्रस्ताव गरेअनुसार नामकरणको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू लाजेहाङको परिवारलाई ५ लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय पनि भएको छ । 

आन्दोलनका क्रममा घाइते भएकाहरूको छानबिनका लागि समिति गठन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने र उक्त समितिले दिने सिफारिसका आधारमा थप प्रक्रिया अगाडि बढाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । 

बैठकमा समाजिक विकास मन्त्रालय अन्तर्गत रहेको बजेटलाई मन्त्रालयको प्रस्ताव अनुसार विनियोजन गर्ने, अन्तरप्रदेश खेलकुद सहभागिता र खेलकुद प्रतियोगिता सञ्चालन गर्न बजेट अभाव भएकोले थप रकम निकासा दिने तथा करार सेवाका कर्मचारीका लागि अर्को निर्णय नभएसम्मका लागि म्याद थप गर्ने निर्णय गरेको छ । 

यस्तै, बैठकले सुरक्षित आप्रवासनसम्बन्धी स्रोत केन्द्र स्थापना गर्न बनेको निर्देशिका स्वीकृत गरेको प्रवक्ता राईले जानकारी दिनुभयो ।