• १६ भदौ २०८१, आइतबार

रुपन्देहीको कञ्चनमा कपडा बैङ्क सञ्चालन

blog

रुपन्देहीको कञ्चनमा कपडा बैङ्क शुभारम्भ गरिँदै । तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे 

बुटवल, फागुन २३ गते । कपडा बैङ्क सञ्चालन गर्ने रुपन्देहीको कञ्चन गाउँपालिका नेपालकै पहिलो गाउँपालिका बनेको छ । यसअघि नगरपालिका र उपमहानगरपालिकामा कपडा बैङ्क सञ्चालनमा आइसकेको छ । 

'क्लोथ एण्ड फुण्ड' बैङ्क नेपालको समन्वयमा कञ्चन गाउँपालिकामा मंगलबारदेखि कपडा बैङ्क सञ्चालनमा ल्याएको हो । कपडा बैङ्कको उद्घाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले आवश्यकभन्दा धेरै कपडा भएकोले दिने र आवश्यकता भएकाले लिने गरी कपडा बैङ्क सञ्चालनमा आएको बताउनुभयो । उहाँले गाउँपालिकाले दुई लाख बजेट छुट्टाएर क्लोथ एण्ड फुण्ड बैङ्क नेपालसँग सम्झौता गरेर अभियानको सुरुवात गरिएको जानकारी दिनुभयो । 

प्रयोगविहीन भएको कपडालाई आवश्यकता भएको व्यक्तिलाई परिपूर्ति गर्ने गरी अभियानको सुरुवात भएको बताउँदै उहाँले घरमा प्रयोग नभएका कपडालाई जम्मा गर्न आग्रह गर्नुभयो । गाउँपालिकाले आगामी शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीलाई विद्यालय पोसाक, झोला र शैक्षिक सामग्री वितरणको लागि तयारी गरिएको समेत अध्यक्ष ढकालले कार्यक्रममा जानकारी गराउनुभयो ।

क्लोथ एण्ड फुण्ड बैङ्क नेपालका परिकल्पनाकार कमल जिसीले यसरी सङ्कलन गरिएको कपडालाई सोरुममा प्रशोधन गरेर पूर्णरुपमा पुनः प्रयोग गर्न मिल्ने र आवश्यकताका आधारमा वितरण गरिने योजना रहेको बताउनुभयो । स्थानीय तह र विभिन्न सङ्घ संस्थाहरूसँगको समन्वयमा कपडा बैङ्क सञ्चालन गरिएको बताउँदै उहाँले देशका एक सय ५४ स्थानीय तहहरूसँग कपडा बैङ्क स्थापनाको लागि सम्झौता गरिएको जानकारी दिनुभयो । 

तिलोत्तमामा कपडा प्रशोधनको लागि सोरुम स्थापना गरिएको र प्रशोधन गरिएका कपडा आवश्यकताका आधारमा निःशुल्क रूपमा वितरण गरिने जिसीले बताउनुभयो । गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले क्लोथ एण्ड फुड बैङ्क नेपालसँग १६ दिन अघि कपडा बैङ्क स्थापनाको लागि सम्झौता गरेर कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले प्रयोगमा नआएर घरमा थुप्रिएका कपडा बैङ्कमा जम्मा गर्नको लागि आग्रह गर्नुभयो । 

कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले समाजमा हुने र नहुने बिच ठुलो खाडल रहेको बताउँदै कपडा बैङ्कको अभियानले हुने र नहुने बिचको सन्तुलन मिलाउन मद्दत पुग्ने बताउनुभयो । यस्तै, कपडा बैङ्कका अभियन्ता विप्लव क्षेत्रीले प्रयोगमा नआएका कपडालाई रिसाईकन मात्र नभएर नयाँ कपडा पनि बैङ्कमा जम्मा गर्न सकिने बताउनुभयो ।