• १६ भदौ २०८१, आइतबार

रिक्त कर्मचारी दरबन्दी लुकाउने प्रवृत्ति

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, फागुन २३ गते । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले रिक्त कर्मचारी दरबन्दी लुकाउने प्रवृत्तिका कारण पदपूर्ति हुन नसकेको बताउनुभएको छ । 

अध्यक्ष रेग्मीले जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिममा कार्यालय प्रमुखसँग मङ्गलबार आयोजित छलफलमा करारमा कर्मचारी भर्ना गर्न विभिन्न कार्यालयले रिक्त दरबन्दी लुकाउने गरेको बताउनुभयो ।  उहाँले विभिन्न कार्यालयले रिक्त दरबन्दी लुकाएर आफू अनूकुल करारमा कर्मचारी भर्ना गर्ने गरेको पाइएको बताउनुभयो ।

उहाँले कार्यालय सहयोगीबाहेक अन्य कुनै पनि पदमा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने व्यवस्था भएकाले त्यस्ता कार्य नगर्न कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो । उहाँले शक्तिमा हुनेले पदको दुरुपयोग गर्ने भएकाले त्यसतर्फ राष्ट्रसेवक कर्मचारीले सजग भएर कानुनको परिपालना गर्नुपर्ने बताउनुभयो ।

उहाँले कर्मचारी अभावमा काम नभएको भन्ने गुनासोलाई इङ्गित गर्दै रिक्त दरबन्दी खुलाई कर्मचारी माग भई आएमा पदपूर्ति गर्ने जिम्मा आयोगले लिने बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईंलाई अप्ठ्यारो परेको बेला कसैले जोगाउन आउँदैन, जनताले दिएको करको दुरुपयोग नगर्ने गरी कानुनसम्मत काम गर्नुहोस् ।”

उहाँले सरकारले दरबन्दी खाली हुँदाहुँदै काजमा कर्मचारी पठाउने, स्थानीय तहले अवैध रूपमा कर्मचारीको स्तरवृद्धि गर्ने, जनप्रतिनिधिलाई केन्द्रित गरी मर्यादाक्रम ल्याउने, व्यक्तिगत इच्छा पूरा गर्न ट्रेड युनियन सक्रिय हुँदा कर्मचारी क्षेत्रमा समस्या निम्त्याएको चर्चा गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जिल्लाका धेरै कार्यालय निमित्त प्रमुखका भरमा चलिरहेको जानकारी गराउनुभयो । उहाँले निमित्तका भरमा धेरै जसो कार्यालय रहँदा सुशासन, समृद्धि, सेवा प्रवाह, गुणस्तरीय विकासनिर्माणलगायतका काममा असर पर्न गएको चर्चा गर्नुभयो ।