• १६ भदौ २०८१, आइतबार

हिमपहिरोले सडक अवरुद्ध

blog

यदुप्रसाद भट्ट

मनाङ, फागुन २३ गते । आइतबार राति परेको हिमपातले सोमबार मनाङ ङिस्याङ गाउँपालिका–१, ढुकुरपोखरीमा हिमपहिरो गएको छ । हिमपहिरो जाँदा तल्लो मनाङ र माथिल्लो मनाङमा आवतजावत पूरै अवरुद्ध भएको छ । 

ठुलै हिमपहिरो गएकाले उपकरण अभावमा सोमबार हिमपहिरो पन्छाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरो पन्छाउने प्रयास जारी छ, अलि जोखिमयुक्त भएको तथा पहिला पनि दुर्घटना भएकाले उच्च सतर्कताका साथ समन्वयमा काम भइरहेको छ ।” उहाँका अनुसार ढुकुरपोखरीमा गएको उक्त हिमपहिरो मस्र्याङ्दी नदीमा आइपुगेको छ । ठुलै पहिरो गएकाले सडक पूरै अवरुद्ध रहेको मनाङ प्रहरीले जनाएको छ । डोजरको प्रयोग गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । अवरुद्ध सडक खुलाउन तथा सो हिमपहिरो पन्छाउन सशस्त्र प्रहरी बल पनि परिचालन गरिएको छ । 

सशस्त्र प्रहरी बलका डिएसपी उदयराज न्यौपानेले ७५ देखि १०० मिटरसम्म लामो हिमपहिरो भएकाले पन्छाउन धेरै समय लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी डोजरसहित हिमपहिरो पन्छाउन लागिपरेका छौँ । सकेसम्म रातसाँझ गरेर अवरुद्ध सडक खुलाउने हाम्रो प्रयास जारी छ ।” हिमपहिरोबाट कुनै पनि क्षति नभएको र सम्भावित क्षतिलाई रोक्न अवरुद्ध सडक खुलाउन लागिपरेको सशस्त्र प्रहरी ३२ नं. गुल्मले जनाएको छ ।

मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ । दैनिक रूपमा यहाँका पर्यटकीय क्षेत्र अवलोकन भ्रमणमा पर्यटक आइरहेका छन् । आवतजावतमा जोखिम बढ्दा पनि समस्या भएको प्रहरीले जनाएको छ । 

दैनिक रूपमा पाँच दर्जन पर्यटक भित्रिन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । भीषण हिमपातसँगै आएको हिमपहिरोले जोखिम बढाएको उहाँले बताउनुभयो । यस क्षेत्रमार्फत यात्रा गर्ने स्थानीय तथा पर्यटकलाई सचेतना अपनाउन आग्रह गरिएको प्रजिअ लामिछानेले बताउनुभयो ।