• १६ भदौ २०८१, आइतबार

प्रदूषित सहरको शीर्ष स्थानमा हनाई

blog

हनोई, फागुन २२ गते । भियतनामको राजधानी हनाईलाई मङ्गलबार प्रदूषणको बाक्लो धुवाँले ढाक्दा अग्ला भवनहरू अस्पष्ट देखिएका थिए भने सहरका करिब ९० लाख मानिसले विषाक्त हावामा सास लिन बाध्य हुनुपरेको थियो ।

मङ्गलबार दिउँसो वायु निगरानी वेबसाइट आइक्युएयरको विश्वका सबैभन्दा प्रदूषित सहरहरूको तालिकामा हनाई शीर्ष स्थानमा छ । फोक्सोमार्फत रक्तप्रवाहमा प्रवेश गर्न पर्याप्त क्यान्सर बनाउने सूक्ष्म कणहरू पिएम २.५ प्रदूषकहरूको स्तर ‘धेरै अस्वास्थ्यकर’ का रूपमा वर्गीकृत गरिएको छ र विश्व स्वास्थ्य सङ्गठनको वार्षिक दिशानिर्देशअनुसार यो २४ गुणाभन्दा बढी छ ।

हालैका वर्षहरूमा हनाईलाई बारम्बार विश्वको सबैभन्दा प्रदूषित सहरमा सूचीबद्ध गरिएको छ । आंशिकरूपमा व्यापक निर्माण र प्रत्येक दिन राजधानीमा ठुलो सङ्ख्यामा मोटरसाइकल र कारहरूबाट हुने उत्सर्जनलाई यसको प्रमुख कारक मानिएको छ । त्यस्तै उत्तरमा कोइला खानीबाट हुने कार्बन उत्सर्जन र कृषि जलनले समस्या थप बढेको छ ।

“पछिल्ला केही दिनमा हावाको गुणस्तर अत्यन्त खराब भएकाले बाहिर निस्कँदा मैले मास्क लगाउनुपरेको छ”, कार्यालयका कर्मचारी गुयेन मिन्ह हुआङले भन्नुभयो, “सास फेर्न कठिन छ, मलाई बारम्बार हाछ्युँ आएकाले बाहिर निस्कने समयलाई सीमित गर्नुपरेको छ ।”

उच्च आद्ररताले बाक्लो कुहिरोले हनाईलाई ढाकेर वायु प्रदूषणमा भएको वृद्धिले दृश्यता कम हुँदा गत महिना दर्जनौँ उडान प्रभावित भएका थिए । मौसम पूर्वानुमानकर्ताहरूले विशेषरूपमा भियतनामको उत्तरपूर्वी पहाडी क्षेत्रमा बाक्लो धुवाँको नियमित चेतावनी जारी गरेका छन् ।

वायु प्रदूषणमा विश्व बैङ्कको पछिल्लो प्रतिवेदनमा हनाईमा ४० प्रतिशत मानिस विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दिशानिर्देशहरूभन्दा करिब पाँच गुणा धेरै सघनताको सम्पर्कमा रहेको उल्लेख छ । वायु प्रदूषणको जोखिमसँग स्ट्रोक, हृदय रोग र फोक्सोको क्यान्सरजस्ता गम्भीर स्वास्थ्य जोडिएका डब्लुएचओले बताएको छ ।  रासस/एएफपी