• १६ भदौ २०८१, आइतबार

सामाजिक सद्भावका लागि समुदायमा अन्तरक्रिया कार्यक्रम

blog

सामाजिक सद्भावका लागि सीमावर्ती समसी गाउँपालिकाको वडा नं १ र ३ स्थित समुदायसँग छलफल गर्दै प्रदेश सुरक्षा प्रमुखहरु । तस्बिर : रवीन्द्र उप्रती

रवीन्द्र उप्रेती

बर्दीबास, फागुन २२ गते । धर्मका नाममा हुने विभेद र वैमनस्य अन्त्य गर्न यहाँको प्रदेश सुरक्षा प्रशासनले समुदायमा अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । मधेश प्रदेश सुरक्षा प्रमुखहरूको अगुवाइ तथा जिल्ला सुरक्षा समिति महोत्तरीको सहभागितामा यसको सुरुवात महोत्तरीको सीमावर्ती समसी गाउँपालिकाबाट गरिएको छ । 

भारतीय सीमासँग जुटेको समसीमा केही दिनअघि महावीर झण्डाको विषयलाई लिएर तनाव चर्कँदा दुई समुदायबिच अप्रिय घट्ना घटेको थियो । वैमनस्यको खाडल थप गहिरिन नपाओस् भनी समसी वडा नं १ पर्सा र ३ वैरगीया लक्ष्मिनियामा दुवै समुदायबिच अन्तरक्रिया कार्यक्रम गरिएको सशस्त्र नायव महानिरीक्षक दीपेन्द्र शाहले बताउनुभयो । 

मधेश प्रदेशका सुरक्षा प्रमुखहरू नेपाल प्रहरी र सशस्त्र प्रहरीका नायव महानिरीक्षक यज्ञ विनोद पोखरेल तथा दीपेन्द्र शाह, अनुसन्धान निर्देशक सञ्जय यादव, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सशस्त्र र नेपाल प्रहरीका एसपीहरू विनोद केसी तथा श्यामकुमार राईसहितको सद्भाव टोलीले गाँउघरमै पुगेर शान्ति, मेलमिलाप तथा भाइचाराको लागि छलफल गरेको समसी १ पर्साका वडाध्यक्ष विपिन यादवले बताउनुभयो । यो छलफलले समसी गाउँपालिकाका दुवै समुदायको ‘अमिलो मन’ मा ‘मिठास’ भर्ने काम गरेको वडाध्यक्ष यादवको प्रतिक्रिया थियो । 

"घरआँगनमै पुगेका सुरक्षा प्रमुखहरूको सद्भाव बैठकले गाउँले बिचमा उत्पन्न त्रास र आशङ्का पखालिनुका साथै आपसी विश्वास र सुरक्षा प्रत्याभूति गराएको छ," उहाँले भन्नुभयो। 

समसी वडा नं ३ वैरगीया लक्ष्मिनीया निवासी प्रदेश सांसद रजी हैदरले समसी गाउँपालिकामा भएको सुरक्षा प्रमुखहरूको सद्भाव यात्रा आफैँमा उदाहरणीय भएको धारणा राख्नु भयो । सुरक्षा प्रमुख र वडावासीहरुबिचको प्रत्यक्ष छलफलले धर्म र आस्थाको आडमा विभाजन ल्याउन चाहने अतिवादी तत्वलाई नियन्त्रण र निरुत्साहित गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो । 

छलफलका क्रममा सुरक्षा प्रमुखहरूले मधेशका जिल्लाहरूमा विगतका समयमा साना कारणले साम्प्रदायिक द्वन्द्व सिर्जना भई शान्ति सुरक्षा तथा विद्वेष बढ्दै गएकाले सामाजिक सद्भावका लागि सबै समुदायसँग प्रत्यक्ष छलफल गरी राय बुझ्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउनुभएको थियो । गाउँलेहरुले बाजे पुर्खाका पालादेखि एकै थलोमा बस्दै आएको आफूहरूबिच कुनै प्रकारको मनोमालिन्य नभएको जिकिर गरेका थिए । तथापि केही वैमनस्यकारी तत्त्वले साना कुरालाई विवादको विषय बनाएर सामाजिक भाइचारा बिथोल्ने प्रयास गर्दा समाजमा अप्रिय घट्ना घट्न गएको गाउँलेको भनाई थियो । त्यस्ता तत्त्वलाई पहिचान गरी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसँग साथ, सहयोग र सहाकार्यका लागि गाउँलेले प्रतिबद्धता प्रकट गरेका थिए । 

समसीको छलफलबाट उत्साहित प्रदेश सुरक्षा प्रमुखहरूले यो कार्यक्रमलाई मधेश प्रदेशका अन्य जिल्लाहरुमासमेत आयोजना गर्दै जाने जनाउनुभएको छ ।