• १६ भदौ २०८१, आइतबार

जलजलामा एक करोड ३९ लाख रुपियाँ थप बजेट

blog

पर्वतको जलजला गाउँपालिका गाउँसभाको १६ औँ अधिवेशन । तस्बिर ः साधन घर्ती

साधन घर्ती 

म्याग्दी (दरबाङ),फागुन २२ गते । पर्वतको जलजला गाउँपालिका गाउँ सभाको १६ औँ अधिवेशनबाट थप एक करोड ३९ लाख रुपियाँ थप बजेट विनियोजन गरेको छ ।सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न गाउँ सभा अधिवेशनबाट गाउँपालिकाको अल्यामा रहेको १ करोड २९ लाख रुपियाँ र आन्तरिक आम्दानीबाट १० लाख रुपियाँ बजेट स्रोत अनुमान गरेर पूर्वाधार निर्माणलगायतका योजनामा विनियोजन गरेको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणीन्द्रप्रसाद आचार्यका अनुसार गाउँसभाले वडा र विषयगत शाखाको विभिन्न योजनाको बजेट रकमान्तर र संशोधन गरेको छ । गाउँसभाले निर्माणाधीन स्टोर तथा आवास भवनको लागि ९० लाख रुपियाँ बजेट विनियोजन गरेको छ भने अन्य बजेट खानेपानी, शिक्षा लगायतका पूर्वाधार योजनामा विनियोजन गरिएको छ । 

गाउँ सभामा उपाध्यक्ष दीपक आचार्यले प्रस्तुत गर्नुभएको थप बजेटसहित विभिन्न योजनाको बजेट रकमान्तर र संशोधनसहितको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । गाउँ सभामा गाउँपालिकाको चालु आर्थिक वर्षको गत साउनदेखि फागुन २० गतेसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ । गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले वडा स्तरका विभिन्न ३८ वटा योजना निर्माण सम्पन्न भएका र ८६ वटा योजना सम्झौता भएर कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो । 

गाउँपालिकाको सङ्घीय अनुदान, प्रदेश अनुदान, राजस्व बाँडफाँट र आन्तरिक आम्दानी समेत गरी कुल ४७ करोड १० लाख आय हुने अनुमान गरेकोमा हालसम्म २५ करोड ७५ लाख ७२ हजार ६४ रुपियाँ वास्तविक आय भएर चालुतर्फ ४७ दशमलव ७५ प्रतिशत र पुँजीगततर्फ ३५ दशमलव ९ प्रतिशत बजेट खर्च भएको छ । अध्यक्ष आचार्यले चालु आर्थिक वर्षमा सञ्चालन भएका योजना तथा कार्यक्रम र गाउँसभाबाट स्वीकृत भएका थप योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा कर्मचारी र जनप्रतिनिधि जुट्नुपर्ने बताउनुभयो ।

उहाँले गाउँसभा सदस्यहरूले उठाएका प्रश्नहरूको जिज्ञासा मेटाउँदै गाउँपालिकाले भूगोल र जनसङ्ख्या तथा अत्यावश्यक आवश्यकतालाई ध्यानमा राखेर बजेट विनियोजन गर्ने गरेको बताउनुभयो । साथै सोही अवसरमा कार्यसम्पादनमा उत्कृष्ट कर्मचारीको रूपमा सूचना तथा सञ्चार प्रविधि अधिकृत सुदीप पौडेल र उत्कृष्ट कर्मचारीको रूपमा सूचना अधिकारी भेषनाथ आचार्यलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।