• १६ भदौ २०८१, आइतबार

अझै घरमै हुन्छन् सुत्केरी

blog

म्याग्दी समाचारदाता 

म्याग्दी, फागुन २२ गते । मङ्गला गाउँपालिका–१ कुहुँ क्षेत्रमा अहिले पनि घरमै सुत्केरी हुने गरेको पाइएको छ । जिल्ला खोप समन्वय समितिका प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको नेतृत्वमा कुहुँ स्वास्थ्य चौकी पुग्दा घरमै सुत्केरी हुने गरेको पाइएको हो । 

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले भन्नुभयो, “खोपको अनुगमनका लागि आएका थियौँ स्वास्थ्य चौकीको अनुगमनका क्रममा घरमै सुत्केरी हुने गरेको तथ्य पनि भेटियो । खोप लगाएको अवस्था निकै राम्रो देखिएको र लक्षित बालबालिकाले खोप लगाउन पाएको समेत कुहुँ क्षेत्रमा देखिएको उहाँको भनाइ छ । 

स्वास्थ्य शाखा प्रमुख लेखनाथ रोकाले चालु आर्थिक वर्षमा २५ जना महिला गर्भवती भएकोमा हालसम्म सुत्केरी भएका मध्ये दुई जना घरमै सुत्केरी भएका छन् भने अन्य सबै तोकिएको स्वास्थ्य संस्थामा सुत्केरी भएको मङ्गला गाउँपालिकाका जानकारी दिनुभयो । नियमित गर्भ जाँच तथा जन्मेका बालबालिकालाई खोपका लागि प्रयास गरिरहेको भए पनि दुई जना महिला घरमै सुत्केरी भएको उहाँले बताउनुभयो । यो वर्ष घरमा सुत्केरी हुने क्रम शून्यमा झार्ने उहाँको भनाइ छ । 

स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख भुवन ठकुराठीले मङ्गला गाउँपालिका–१ मा २० वर्ष उमेरका २० जना गर्भवती भएकोमा दुई जना घरमै सुत्केरी भएको बताउनुभयो । २८ वर्षीय हरिकला परियार र ३२ वर्षीय मीना रोका घरमै सुत्केरी हुनुभएको हो । उहाँले कुहुँमै रहेको बर्थिङ सेन्टरमा सुत्केरी हुनका लागि ल्याउन खोजेको भए पनि घरमै सुत्केरी भएको बताउनुभयो । 

गाउँपालिकाभित्र सात जना २० वर्षभन्दा कम उमेरका सुत्केरी भएका छन् । मङ्गला गाउँपालिकाको बुकेनी र अर्मन बर्थिङ सेन्टरमा तीन तीन जना र बाबियाचौरमा एक जना सुत्केरी भएको रोकाले जानकारी दिनुभयो ।