• १६ भदौ २०८१, आइतबार

हिमपातले यातायात ठप्प

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, फागुन २२ गते । पानी परेसँगै हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो भेकमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मुक्तिनाथका वडा सचिव सुवास अधिकारीले शनिबार बेलुकादेखि हिउँ पर्न थालेको बताउनुभयो । 

मङ्सिर, पुसमा हिमपात राम्रोसँग हुन नसके पनि अहिले हुँदा किसानका लागि सहज हुने उहाँको भनाइ छ । झारकोट स्वास्थ्य चौकीका इन्चार्जसमेत रहनुभएका अधिकारीले भन्नुभयो, “ज्येष्ठ नागरिक तथा बालबालिकालाई चिसोले गर्दा समस्या हुन सक्ला तर अन्य हिसाबले हेर्दा हिउँले राम्रो नै गर्ला ।” 

शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयका अनुसार हिमपातले गर्दा अर्ली भेराइटीलाई केही असर गर्न सक्ने भए पनि अन्य फलफूल तथा तरकारीका लागि भने निकै राम्रो गर्दछ । 

अब फूल खेल्ने बेला भएका कागजी बदाम, आरु, आरुबखडाका फूल झार्ने हुन सक्ला नत्र भने तरकारी तथा स्याउलगायतका फलफूलमा भने अहिले फूल खेल्ने बेला भएको छैन त्यसैले हिमपात निकै फलदायी हुन्छ । अहिले भएको हिमपातले ल्होमन्थाङ गाउँपालिका, लोघेकर दामोदरकुण्ड गाउँपालिका तथा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका कृषकका लागि निकै राम्रो हुने आत्रेयको भनाइ छ । 

हिमपातले गर्दा उपल्लो मुस्ताङतर्फको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयले बताउनुभयो । हिमपातले गर्दा शनिबार साँझदेखि अवरुद्ध भएको सडक सोमबार बिहानसम्म सञ्चालनमा आउन नसकेको उहाँको भनाइ छ । हिमपातले गर्दा अहिले यातायात अवरुद्ध भएको छ मौसम धुम्म छ । यदी घाम लाग्न सक्यो भने हिउँ पग्लेर सवारी सञ्चालन हुने थियो, उहाँले भन्नुभयो ।

बेनी–जोमसोम–कोरला सडकको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङभन्दामाथिको लोघेकर दामोदरकुण्ड र ल्होमन्थाङ गाउँपालिका क्षेत्रको सडक अहिलेसम्म पूर्ण रूपमा अवरुद्ध भएको डिएसपी पाण्डेयले बताउनुभयो । हिमपातले गर्दा घरबाहिर निस्कन सक्ने अवस्था छैन तर अहिलेसम्म कुनै पनि अप्रिय घटना नभएको र केही पनि क्षति नभएको उहाँले बताउनुभयो ।