• १६ भदौ २०८१, आइतबार

भान्साघर आयआर्जनको माध्यम

blog

बुटवल समाचारदाता

बुटवल, फागुन २२ गते । थारू समुदायका महिलाको जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यले एक वर्षअघि सुरु गरिएको थारू भान्साघर आयआर्जनको प्रभावकारी माध्यम बनेको छ । कुनै पनि आयआर्जनका कार्यक्रममा जोडिन नपाएका थारू समुदायका महिलालाई लक्षित गरी संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको आर्थिक सहयोगमा एक वर्षअघि भान्साघर सुरु गरिएको हो । 

थारू जातिको मात्रै परिकार पाइने भान्साघरले अहिले सबैको मन जितेको छ । रुपन्देहीको सैनामैना नगरपालिका–१०, सालझन्डीमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहयोगमा २० जना महिलालाई आयआर्जनमा जोडिएको थियो । स्थानीय २० जना थारू समुदायका महिलाको समूह गठन गरी उनीहरूले नै सञ्चालन गर्ने गरी थारू भान्साघरले आम्दानी गर्दै गएको सञ्चालक लक्ष्मी चौधरीले बताउनुभयो । 

समुदायका महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यले नयाँ प्रकृतिको भान्साघर सञ्चालनमा ल्याएपछि थारू समुदायका महिलाले कामसंगै दामसमेत पाएको भन्दै खुसी प्रकट गरेका छन् । थारू जातिको भान्साघरबाट पर्यापर्यटनसँगै उनीहरूको थारू समुदायका महिलाको जीवनस्तरमा परिवर्तन ल्याउन सहयोग पुगेको सैनामैना नगरपालिका–११ की थारू समुदायकी अगुवा शारदा चौधरीले बताउनुभयो । यस प्रकारको व्यवसायले सामाजिक रूपमा समेत सकारात्मक सन्देश दिनुका साथै महिलालाई आयआर्जनसँग जोडिन सफल भएको स्थानीय सीता घिमिरेले बताउनुभयो । 

बहुरियाके भान्साघर नाममा एक वर्षअघि खोलिएको थारू संस्कृति र परिकारसँग सम्बन्धित उक्त भान्साघरमा अहिले ग्राहकको भिड बढेकाले सञ्चालकलाई भ्याई नभ्याई छ । छुट्टै प्रकारको स्वाद र थारू समुदायको परिकार मात्रै पाइने भएकाले ग्राहकलाई भान्साघरले आकर्षित गरेको छ । 

सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले थारू समुदायको खानपानमा आफ्नै पहिचान रहेको बताउनुहुन्छ । थारू भान्साघरले थारू जातिको परम्परागत खानाको प्रवर्धन गरेको छ । स्थानीय सालझन्डी, झिमझिमिया, बिचौवापुरलगायत गाउँका २० जना थारू समुदायका महिलाले समूह निर्माण गरी थारू भान्सा सञ्चालनमा ल्याएका हुन् ।