• १६ भदौ २०८१, आइतबार

नगरको आम्दानी वृद्धि गर्न महोत्सव

blog

तानसेन समाचारदाता

तानसेन, फागुन २२ गते । तानसेन नगरपालिकाले आन्तरिक आम्दानीमा वृद्धि गर्न आफैँ व्यापार महोत्सव गरेको छ । नगरपालिकाको आन्तरिक आम्दानी बढाउने मुख्य उद्देश्य राखेर नगरपालिका आफैँले कृषि, पर्यटन तथा व्यापार गरेको हो । 

विगतमा पाल्पा उद्योग वाणिज्य सङ्घ र पाल्पा व्यापार सङ्घले तानसेनमा व्यापार महोत्सव गर्दै आएका थिए । यस पटक नगरपाालिकाले आफ्नो आन्तरिक आम्दानी वृद्धि गर्न आफैँ मुख्य आयोजक बनेर महोत्सवको आयोजना गरेको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो, “नगरपालिकाको आन्तरिक आम्दानी वृद्धि नगरी विकास सम्भव नभएकाले आम्दानी बढाउन आफैँ महोत्सव आयोजना गरेका छौँ ।” महोत्सवबाट नगरपाालिकाको आन्तरिक आम्दानीतर्फ न्यूनतम ६१ लाख रुपियाँको योगदान हुने छ । यसले सङ्घ र प्रदेश सरकारबाट आउने अनुदान बढाउनमा समेत बल पु¥याउने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

महोत्सव आफैँ आयोजना गर्दा नगरपालिकाको आन्तरिक आम्दानीमा सहयोग पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो । 

नगरपालिकाले महोत्सव गर्दा नगर सरकारको उद्देश्य अनुसार स्टलको व्यवस्थापनमा पनि सहजता आएको छ । महोत्सवले सुस्त बनेको आर्थिक गतिविधिलाई चलायमान बनाउन, पर्यटकीय स्थलहरूको प्रचार गरी पर्यटक भित्र्याउन सहयोग पु¥याउने अपेक्षा गरिएको नगरपालिकाकी उपप्रमुख प्रतीक्षा सिँजाली गाहाले बताउनुभयो । महोत्सव आगामी फागुन २९ गतेसम्म सञ्चालन हुने छ । १० दिनसम्म सञ्चालन हुने महोत्सवमा १० करोड कारोबार हुने अनुमान गरिएको छ । 

महोत्सवमा पाल्पामा उत्पादित कृषिजन्य वस्तुको प्रदर्शनी, हस्तकला, काष्ठकलाको उत्पादन र निर्माणको स्टलसमेत राखिएको छ । महोत्सवले सिप हस्तान्तरण, छोटो अवधिको रोजगार प्रदान गर्ने नगर उपप्रमुख सिँजाली गाहाले बताउनुभयो ।