• १६ भदौ २०८१, आइतबार

सहिद तथा बेपत्ता परिवारको गुनासैगुनासो

blog

सहिद परिवारका सदस्य अशोक रोकायलाई सम्मान गर्नुहुँदै माओवादी केन्द्रका स्थायी कमिटी सदस्य महेश्वरजङ्ग गहतराज ‘अथक’ । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, फागुन २१ गते । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्ध कालमा ज्यान गुमाएका सहिद परिवार तथा वेपत्ता भएका परिवारका सदस्यको पार्टी र सरकारप्रति गुनासैगुनासा छन् ।

नेकपा माओवादी केन्द्र बाँकेले २९ औँ जनयुद्ध दिवस तथा सहिद सप्ताहको अन्तिम दिन पारेर सोमवार नेपालगन्जमा जिल्लाभरका सहिद तथा वेपत्ता परिवारलाई गरेको सम्मान कार्यक्रममा उपस्थित अधिकांश सहिद तथा वेपत्ता परिवारका सदस्यहरूले पार्टी र सरकारप्रति असन्तुष्टि जनाउँदै गुनासो राखेका हुन् ।

सहिद परिवारका सदस्य रक्षाराम वर्माले आफ्नो पार्टीले सरकारको नेतृत्व गरिरहेको अवस्थामा पनि सहिद, वेपत्ता तथा घाइते अपाङ्गका परिवारलाई नहेरेको बताउनुभयो । उहाँले जनयुद्ध लडेर आफ्ना छोराछोरी सहिद, वेपत्ता तथा घाइते अपाङ्ग बनेको र त्यसैको जगमा पार्टीले सरकारको नेतृत्व गरेको भन्दै शिक्षा तथा स्वास्थ्य लगायतका विषयहरूमा पार्टी र सरकारको ध्यान जान नसकेको दुेखेसो पोख्नुभयो ।

अर्का सहिद परिवारका सदस्य पवित्रा रोकायले जनयुद्धमा ज्यान गुमाएका सहिद तथा हालसम्म पनि वेपत्ता पारिएकाहरूको जोडबलबाट यो व्यवस्था आएको बताउनुभयो । “हाम्रा सन्तानले ज्यान गुमाए, कैयौँ अझै ज्यूँदो मर्दो के छन् थाहा छैन, कति अपाङ्ग भएर कष्टकर जीवन बिताइरहेका छन् तर पार्टीले केही नेतालाई सरकारमा पठाउन मात्र हामीलाई प्रयोग मात्रै ग¥यो,” उहाँले भन्नुभयो, “चुनावको बेलामात्र हाम्रा मुद्दा उठाउने, चुनाव जितेर गएपछि सांसद, मन्त्री र प्रधानमन्त्रीसम्म बन्ने, तर हाम्रा पिरमर्का के छन् ? हामी कसरी बाँचेका छौँ ? केही सोधपुछ नगर्ने ।” उहाँले पार्टीका नेताहरू आफ्नो घरमा नपुगेको, फोन गर्दा नउठाउने गरेको उठाईहालेमा कुरा पनि गर्न नखोज्ने गरेको पीडा पोख्नुभयो ।

“हामीले पार्टीसँग पैसा मागेका छैनौँ, खाना मागेका छैनौँ, ऋण तिरी दे भनेका छैनौँ” सहिद परिवारका सदस्य कान्तुराम गौतमले भन्नुभयो, “पार्टी सरकारमा भएको बेलामा कमसेकम हाम्रा बालबच्चालाई निःशुल्क पढाइदिने व्यवस्था गर, छात्रवृत्तिको व्यवस्था गर, बिरामी हुँदा सहजरुपमा उपचार पाउने व्यवस्था गर,” गौतमले भन्नुभयो, “हाम्रा कारणबाट गणतन्त्र आयो, व्यवस्था परिवर्तन भयो, समावेशी र समानुपातिक व्यवस्था आयो तर बाँके जिल्लामा खोइ हामीले अवसर पाएको ?, खोइ सहिद तथा बेपत्ता परिवारका सदस्यले चुनावमा टिकट पाएको ?, खोइ हामी सांसद र मन्त्री भएको ?।”

अर्का सहिद परिवारका सदस्य सीता शाहीले निमुखा जनताको शासन ल्याउनका लागि जनयुद्ध भएको र जनयुद्धमा होमिदा आफ्ना एक दाजु र एक भाइ गुमाउनु परेको पीडा पोख्नुभयो । उहाँले हजारौँ सहिद तथा वेपत्ता सदस्यले देश बनाउन भन्दै बलिदानी दिएर आएको यो व्यवस्थामा आफ्नै पार्टी सरकारमा हुँदा पनि आफूहरूलाई सम्बोधन हुने गरी नीति निर्माण गर्न नसकेको भन्दै गुनासो पोख्नुभयो ।

अर्का सहिद परिवारका सदस्य दीपशिखा दाहालले चुनावको बेलामा मात्र पार्टीको नाममा भोट खोज्ने गरेको भन्दै हरेक अवसरबाट सहिद तथा वेपत्ता परिवारका सदस्यहरू वञ्चित हुनु परेको बताउनुभयो ।

कार्यक्रममा जिल्लाभरका एक सय ९० जना सहिद तथा वेपत्ता परिवारका सदस्यहरूलाई खादा ओढाएर सम्मानपत्रबाट सम्मानित गरिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य गेहराज रिजाल नवीन शर्माले जानकारी दिनुभयो ।

माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’ले जनयुद्धका क्रममा आफ्नो अमूल्य जीवनको उत्सर्ग गर्ने सहिद तथा वेपत्ता भएका साथीहरूले नेपाली समाजको युगान्तकारी परिवर्तन तथा सर्वहारा वर्गको मुक्तिका लागि गरेको बलिदानको उच्च सम्मान गर्दै र सहिद तथा वेपत्ता योद्धाहरूको लक्ष्य, उद्देश्य तथा सपना पुरा गर्नका लागि पार्टीले उहाँहरूका परिवारका सदस्यहरूलाई सम्मान गरेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्वखेलकुद मन्त्री महेश्वरजङ्ग गहतराज ‘अथक’ले पार्टीको नेतृत्व अझै पनि अप्ठ्यारो लडाइँ लडिरहेको भन्दै सम्पूर्ण सहिद तथा वेपत्ता परिवारका सदस्यहरूलाई एकताबद्ध भएर र सङ्गठित भएर पार्टीलाई झकझकाई राख्न र खबरदारी गर्न अनुरोध गर्नुभयो । उहाँले सहिद तथा वेपत्ता परिवारका सदस्यहरूले मात्र टुटफुट भएको माओवादी र माओवादी आन्दोलनलाई एकताबद्ध गर्नसक्ने बताउनुभयो ।  

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका माओवादी केन्द्रका स्थायी कमिटी सदस्य अथकले सहिद तथा बेपत्ता परिवारका सदस्यहरूलाई खादा तथा सम्मानपत्रबाट सम्मानित गर्नुभएको थियो ।