• १६ भदौ २०८१, आइतबार

धरान एक्स्पोमा कृषिदेखि विदेशी औद्योगिकसम्मको व्यापार

blog

फागुन ११ गतेबाट सुरु भएको धरान एक्स्पो मेला । तस्बिर : निशा राई

निशा राई
धरान, फागुन २१ गते ।
 स्थानीय व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य सङ्घले धरान एक्स्पोमा कृषि, स्वदेशी तथा विदेशी औद्योगिक व्यापार प्रदर्शनमा राखेको छ ।

यही फागुन ११ गतेबाट सुरु भएको धरान एक्स्पोमा नेपालमा उत्पादितदेखि  स्वदेशी तथा विदेशी औद्योगिक व्यापार उत्साहजनक रहेको आयोजकले बताएको छ ।

आयोजक समितिका सदस्य सचिव महेन्द्र प्रधानले एक्सपोमा एक लाख मानिसले अवलोकन गरेको बताउनुभयो । साथै नौ करोडसम्मको व्यापार भएको उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय उत्पादनको माग बढी भएकाले सामग्री अझै मगाएको सचिव प्रधानले बताउनुभयो ।


एक्सपोमा नेपालका विभिन्न जिल्लाको अर्ग्यानिक कृषि उत्पादनदेखि हस्तकलाका सामग्री, वैज्ञानिक कृषि पद्धति, स्थानीय साधन स्रोतबाट उत्पादित वस्तुका साथै  भारत, बङ्गलादेश र पाकिस्तानलगायतका देशमा उत्पादित सामना राखिएका छन् ।

एक्सपोमा वराहक्षेत्रका कृषक अर्जुन राईले स्ट्रबेरि, बेसार, टमाटर, चाइनिज साग, बन्दाकोपी, खोर्सानीलगायत तरकारी एक्सपोमा बेच्न आउनुभएको छ ।

गत वर्षको तुलनामा यस वर्ष व्यापारमा कमी भएको भए पनि व्यापारमा घाटा भने नभएको उहाँको भनाइ छ । स्वास्थ्यलाई ध्यानमा राख्दै विषादी रहित कृषिबाली उत्पादनमा यो कार्यक्रमले विशेष टेवा पुर्‍याएको आयोजकले जनाएको छ  ।


यसैगरी, धरानकै उद्योगी मनिता घिमिरेले आफ्नै गाउँघरमा पाइने वनस्पतिको प्रयोग गरेर साबुन उद्योग सञ्चालन गरिरहेको बताउनुभयो । सानो लगानीबाट साबुन व्यवसाय गर्न सकिने पनि उहाँको भनाइ छ । 

उहाँले पनि गत वर्षको तुलनामा यस वर्ष व्यापार कम भएको गुनासो गर्नुभयो । 

एक्सपोमा मनोरञ्जनका लागि रोटे पिङ, नाउलगायत हरेक दिन राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । एक्सपोमा टिकट र पार्किङ शुल्क निःशुल्क गरिएको छ ।