• १६ भदौ २०८१, आइतबार

द्वन्द्वकालीन मुद्दा अब चाँडै समाधान हुन्छ : सभामुख घिमिरे

blog

सभामुख देवराज घिमिरे पत्रकार टीका विष्टलाई यदु स्मृति पत्रकारिता पुरस्कारले पुरस्कृत गर्नुहुँदै । तस्बिर : केशब गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन २१ गते । सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा दलका नेताहरू सहमतिनजिक पुगेकाले द्वन्द्वकालीन समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । 

यदु स्मृति प्रतिष्ठानद्वारा सोमबार यहाँ आयोजित ‘यदु स्मृति पत्रकारिता पुरस्कार’ वितरण कार्यक्रममा उहाँले सो विश्वास व्यक्त गर्नुभएको हो । द्वन्द्वरत पक्षहरू शान्ति प्रक्रियामा आएको लामो समय भए पनि द्वन्द्वकालीन मुद्दाको समाधान अहिलेसम्म नभएकाले ऐन संशोधनपछि सबै समस्या समाधान हुने बताउनुभयो । 


रुकुममा तत्कालीन एमाले नेता यदु गौतमलाई २०५५ फागुन २१ गते तत्कालीन माओवादी कार्यकर्ताहरूले बीभत्स हत्या गरी एक कुशल सङ्गठनको हत्या गरेको उहाँको भनाइ छ । सो घटनाबारेमा कमजोरी भएको माओवादी पार्टीले स्विकारी सकेकाले त्यस्ता घटनाहरू चाँडो निरूपण गरेर जान आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो । 

द्वन्द्वकालीन घटनाहरूको सही व्यवस्थापन गर्न ऐन संशोधनको खाँचो रहेको र ऐन संशोधन भई कार्यान्वयनमा गएपछि यदु गौतमलगायतका पीडितहरूप्रति न्याय हुने विश्वास व्यक्त गर्नुहुँदै सभामुख घिमिरेले यदुको योगदानको स्मरणका लागि प्रतिष्ठानले गठन गरेको पुरस्कार प्रशंसायोग्य भएको बताउनुभयो । 


सो अवसरमा सभामुख घिमिरेले पत्रकार टीका विष्टलाई यदु स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशि नगद १५ हजार र सम्मानपत्र रहेको छ । 

सो अवसरमा पुरस्कार छनोट समितिका संयोजक तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले शान्तिको बिगुल फुक्ने तत्कालीन पत्रकार तथा एमाले नेता गौतमको हत्या गरी माओवादीले गल्ती गरेको  चर्चा गर्नुभयो । शान्तिको पक्षमा कलम चलाउने पत्रकारलाई सम्मानित गर्न यदु स्मृति प्रतिष्ठानले पुरस्कार गठन गरी हरेक वर्ष यदु गौतमको स्मृतिमा पुरस्कार प्रदान गर्दैआएको बताउनुभयो । गत वर्ष सो पुरस्कार लक्की चौधरी (कैलाली) ले प्राप्त गर्नुभएको थियो । विष्टले यस वर्षको पुरस्कार प्राप्त गरेसँगै २२ जना पत्रकारले पुरस्कार पाइसक्नुभएको छ । 


प्रतिष्ठानका अध्यक्ष सुजाता गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका सचिव नारायणप्रसाद शर्मा, पुरस्कृत व्यक्तित्व टीका विष्टले धारणा राख्नुभएको थियो ।  सो कार्यक्रममा यदुप्रसाद गौतमका ९७ वर्षीय पिता उमाकान्त गौतमसहित अन्य एमाले नेताहरूको पनि सहभागिता थियो ।