• ९ मंसिर २०८१, आइतबार

सप्तरीको महुलीमा चक्काजाम

blog

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली सडकखण्डमा किसानहरुले दुध सडकमा पोखेर १ घण्टा सडक जाम । तस्बिर : देवरामप्रसाद यादव

देवरामप्रसाद यादव

सप्तरी, फागुन १७ गते । सप्तरीको महुली खडकखण्डमा विभिन्न ११ सूत्रीय माग सहित आन्दोलनरत किसानहरूले एक घण्टा चक्काजाम गरेको छ । दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड सप्तरीको अगुवाइमा बिहीबार १२ बजेदेखि १ बजेसम्म सडक जाम गर्दै किसानहरूले सडकमै दूध पोखेर प्रदर्शन गरेको हो । 

किसान मार्न पाइँदैन, कृषि मन्त्री राजीनामा दे, दुधको भुक्तानी अविलम्ब गर, लगायतका विभिन्न नारा लेखिएको प्लेकार्डसहित सडक प्रदर्शनमा उत्रिएका सङ्घका पदाधिकारी तथा किसानहरूले सरकार दुध उत्पादक किसानको समस्या समाधानप्रति गम्भीर नभएको आरोप लगाएका छन् । सडक जाम गरेपछि लामो तथा छोटो दुरीमा चल्ने सयौँ सवारी साधनहरू सडकमै रोकिएको कारण हजारौँ यात्रुहरूले बाटोमा सास्ती खेप्न बाध्य भए ।

दुग्ध उत्पादक सहकारी सङ्घ सप्तरीका अध्यक्ष दीपेन्द्र कुमार आचार्यले नेपाल सरकार दुध उत्पादक किसानहरूको समस्या समाधानतर्फ गम्भीर नभएको आरोप लगाउँदै आक्रोश पोखेका थिए । उहाँले विराटनगर दुग्ध वितरण आयोजनाले करोडौँ रुपियाँ किसानहरूको भुक्तानी रोकेकाले कारबाहीका लागि सङ्घीय सरकारका कृषि मन्त्रीलाई भेटेर हारगुहार गरेको बताउनुहुँदै किसानको माग सम्बोधनमा चासो नदिने कृषिमन्त्रीले तुरुन्तै पदबाट राजीनामा दिनुपर्ने माग गर्नुभयो । उहाँले शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए केन्द्रीय दुग्ध सहकारी सङ्घले आव्हान गरेको आन्दोलनमा समर्थन गर्दै थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिनुभयो ।  

सो अवसरमा सङ्घका पूर्व अध्यक्ष एवम् किसान भुवन आचार्य, आदर्श दुग्ध विकास सहकारी संस्था महुलीका प्रबन्धक बोधराज सुवेदी लगायतले ११ सूत्रीय माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।