• २५ पुस २०८१, बिहिबार

‘चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रबर्द्धन गर्छ’

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ को बुधबार समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, फागुन १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाको माध्यमबाट अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको बताउनुभएको छ । ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ को बुधबार समापन गर्नुहुँदै उहाँले नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो ।


“प्रदर्शनमा राखिएका चित्रकला मौलिक छ, यसले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्छ, नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न यो धेरै महत्त्वपूर्ण छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “कलाकारिताकाको माध्यमबाट देशको प्रतिष्ठा बढाउन यहाँहरूले ठुलो योगदान गर्नुभएको छ ।”

नेपालको प्राकृतिकरूपमा सुन्दर र मौलिक प्रकृतिको रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “यहाँका हिमाल, नदीनाला, छहरा, जङ्गल सबै नै चित्रकलामय रहेको छ । यसलाई पारखीहरूबाट ठोस आकार दिएर जब चित्रकलामा रूपान्तरण गरिन्छ, त्यसले दिने सन्देश धेरै नै शक्तिशाली हुन्छ भन्ने मैले महसुस गरेको छु ।” उहाँले कलाकारबाट देशको पहिचान र प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान भएको बताउनुभयो ।


प्रधानमन्त्री प्रचण्डले चित्रकला प्रदर्शनका लागि विश्वका कलाकारले तयार पार्नुभएको कलाले नेपालको भूगोल र संस्कृति एवम् परम्परा चित्रमार्फत देखाइएको आफूले पाएको बताउनुभयो । काठमाडौँको आर्ट काउन्सिलमा यही फागुन ५ गतेदेखि सुरु भएको प्रदर्शनीमा विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्रहरू समावेश गरिएको आयोजकले जनाएको छ ।