नागेन्द्र कर्ण
महोत्तरी, फागुन १५ गते । जलेश्वर नगरपालिकाको वडा नं. ४ मा रहेको शुकदेव माध्यमिक विद्यालयको प्राविधिक शिक्षालय तर्फका विद्यार्थीहरूले यसक्षेत्रमा निर्माण गर्न सकिने विभिन्न परियोजनाहरूलाई प्रोजेक्टको रूपमा प्रस्तुत गरेका छन् ।
कक्षा ९ देखि प्राविधिकतर्फ सिभिलको अध्ययन हुने यस विद्यालयका विद्यार्थीहरूले आफ्नो क्षमता देखाउने उद्देश्यले गाउँ घरमा फालिएका सामग्रीहरू बटुलेर यसक्षेत्रमा निर्माण गर्न सकिने परियोजनाहरूको प्रस्तुतीकरण गरेको हो । प्रस्तुतीकरणमा अन्य विद्यार्थीहरूले पनि आफ्नो कला प्रदर्शन गरेका थिए । सो प्रस्तुतीकरणमा कक्षा १० मा अध्ययनरत छात्रहरूले यसक्षेत्रमा एप्रोच पुलको आवश्यकता सहितको डेमो बनाएर प्रस्तुतीकरण गरेपछि अभिभावकहरूको ध्यान तानेको थियो ।
विद्यालयका छात्रहरू विवेक महतो, रवीन्द्रनाथ झा, राहुल राम, सुरज साफी तथा विकास कापरले ‘रोटिँग ब्रिज’ को डेमो बनाएर यस क्षेत्रमा यो पुलको आवश्यकता र औचित्यलाई पुष्टि गरेका थिए । महोत्तरीको भंगहादेखि भारतको जयनगरसम्म जाने रेल्वे मार्गमा पर्ने पुल, पुलेसा तथा विभिन्न अवैध बाटोहरू (लेभल क्रसिँग गेट नहुनु) मा यो पुल निर्माणले सहजता आउन सक्ने विद्यार्थीहरूको भनाइ थियो ।
हाइड्रोलिक पुलको रूपमा रहेको यो पुललाई आवश्यकता अनुसार रेल्वेको लिक तथा सडक दुवै ठाउँमा राख्न सकिने डेमो बनाउनु भएका छात्र विवेक महतोले जिज्ञासा राख्नु भएका शिक्षक, अभिभावक तथा आगन्तुकहरूलाई बताउनुभयो । उहाँले यस्तो पुल बनाउन खर्चिलो देखिएपनि एउटै पुलबाट रेल्वे लाइन तथा मोटरहरू समेत चल्न सक्ने र दुर्घटना समेत न्यूनीकरण गर्न सहयोग हुने विद्यार्थीहरूको भनाइ थियो ।
त्यसैगरी सो विद्यालयका कक्षा ९ र १० मा मा अध्ययनरत विद्यार्थीहरूले यस क्षेत्रमा भूकम्प प्रतिरोधी घरहरू तथा हरियालीयुक्त घरहरू निर्माणको आवश्यकतालाई महसुस गर्नुहुँदै सो को प्रोजेक्ट वर्क बनाएर प्रस्तुतीकरण गर्नुभएको थियो ।
रत्यौली युवा क्लब महोत्तरीले आयोजना गरेको समुन्नति बालबालिकाको लागि हाम्रो ए.एफ.यु.मेला २०२४ को अवसरमा सो विद्यालयका विद्यार्थीहरूले विद्यालयमा सिकेका कुराहरूलाई प्रोजेक्टको रूपमा प्रस्तुत गरेका थिए । विद्यालयका छात्राहरूले मिथिला कलाको रूपमा रहेको विभिन्न चित्रहरू बनाएर प्रदर्शनी समेत गरेका थिए । क्लबले जलेश्वर नगरपालिकाको २८ वटा विद्यालयमा यस्तो कार्यक्रम गरेर विद्यार्थीहरूमा रहेको क्षमतालाई बाहिर देखाउने मञ्च बनाउने जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र चौधरीले अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरूले सिकेका कला र क्षमतालाई अभिभावकहरूलाई देखाउने मेलाको रूपमा आयोजना भएकोमा खुसी व्यक्त गर्नुहुँदै यस्तो मेलाले विद्यार्थीहरूलाई आफ्नो क्षमता देखाउन सहयोग पुग्ने बताउनुभयो ।
विद्यार्थीहरूको प्रोजेक्ट वर्क हेर्न जलेश्वर नगरपालिकाका जनप्रतिनिधिहरू, रत्यौली युवा क्लबका पदाधिकारीहरू, समुन्नति कार्यक्रमको स्पोन्सर कोर्डिनेटर अर्जुन थापा मगर तथा शिक्षा कोर्डिनेटर देवेन्द्र प्रसाद यादवसहित महोत्तरीका सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
क्लबका सामाजिक परिचालक मनोज कुमार साहले विद्यालयमा उपस्थित भएका सम्पूर्ण विद्यार्थीहरूलाई कक्षा अनुसार विभिन्न प्रतियोगिताहरू आयोजना गरिनुका साथसाथै सबैलाई उपहार समेत वितरण गरिएको बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई आफ्नो कला देखाउने माध्यम मेला भएको भएकोले विद्यार्थीहरू खुसी साथ कला प्रदर्शन गरेका थिए ।