• २५ पुस २०८१, बिहिबार

मौलिक हक कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का

blog

आँखा उपचार केन्द्र (सर्जिकल) भवनको उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का । तस्बिर : उपप्रधानमन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन

सुर्खेत, फागुन १५ गते । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानमा लेखिएका जनताका मौलिक हक कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका जनताका मौलिक हक कार्यान्वयनतर्फ सरकार लागिरहेको बताउनुभयो ।

“संविधानमा उल्लेख भएका जनताका मौलिक हक कार्यान्वयनका लागि राजनीतिक दलहरूको एकताबद्ध प्रयास आवश्यक छ” आज सुर्खेतको गुर्भाकोटमा सामुदायिक आँखा उपचार केन्द्र (सर्जिकल) भवनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उपप्रधानमन्त्री खड्काले विकासको आकाङ्क्षा र आवश्यकता समयअनुसार बढ्दै जाने उहाँको भनाइ छ। उहाँले पूर्वाधार निर्माण गर्दा दूरदृष्टी आवश्यक रहेको चर्चा गर्नुभयो । 


आजका लागि नभई भावी पुस्ताका लागि पनि आधार र जग बन्नेगरी पूर्वाधार निर्माण जरुरी रहेको उहाँले चर्चा गर्नुभयो । “कुनै पनि विकास निर्माण काम गर्दा आजका लागि होइन, पछिल्लो पुस्ताका लागि पुग्नेगरी काम गर्नुपर्छ” उपप्रधानमन्त्री खड्काले भन्नुभयो ।

उपप्रधानमन्त्री खड्काले राजनीति गर्नेहरू लोभ, डर, स्वार्थबाट मुक्त हुँदै पारिवारिक घेराभन्दामाथि उठेर सिङ्गो देशका लागि काम गर्ने भावनाप्रति समर्पित हुन जरुरी रहेको बताउनुभयो । “अहिलेको नयाँ परिस्थितिले त्यो खालको राजनीतिक सोच, प्रतिबद्धता र सङ्कल्पको आवश्यकता ठानेको छ” उहाँले भन्नुभयो, “राजनीतिक, भौगोलिक र सामाजिक चुनौतीहरू सामना गर्न राजनीति गर्नेमा इमान, निष्ठा र समर्पणको आवश्यकता छ ।”


उहाँले लोभबाट मुक्त हुनेहरू डरबाट मुक्त हुने बताउनुभयो । “यी सबै कुराबाट खारिएर उभिन सक्नेले समाज, गाउँ, क्षेत्र, प्रदेश र सिङ्गो राष्ट्रको उन्नति र प्रगतिका लागि योगदान दिनसक्छ, त्यसका लागि नेतृत्व गर्न सक्छ भन्ने नागरिकको अपेक्षा छ । त्यो खालको सोच भएकाहरूको एकताबद्ध राजनीतिक दलहरूको प्रयासका आधारमा चुनौती सामान गर्न सकिने उहाँको भनाइ छ ।