• ९ मंसिर २०८१, आइतबार

कटान रोक्न तटबन्ध निर्माण कार्य सुरु

blog

लहान–२३ मा बलान नदीले सुख्खामा गरिरहेको कटान । तस्बिर : जीवछ यादव

जीवछ यादव

लहान, फागुन १५ गते । सिरहा र सप्तरीको सीमा रहेको बलान नदीले लहान नगरपालिका-२३ मा सुख्खा मौसममा समेत जारी राखेको कटान रोक्न तटबन्ध निर्माण कार्य सुरु गरेको छ । 

५० लाखको लागतमा तटबन्ध निर्माण कार्य सुरु गरेको लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभएको हो । उहाँका अनुसार यसअघि दुई पटक ३० लाखभन्दा बढी रकमबाट बालुवाको बाँध र बाँसको टाटीले कटान रोक्न गरिएको प्रयास सफल नभएपछि लहान नगरपालिकाले ५० लाख र प्रदेश सरकारले ९० लाख गरी एक करोड चालिस लाखको लगानीमा वर्षातको समय आउनुअघि ठोस निर्माण कार्य अघि बढाएको हो । 

दुई दशक अघिदेखि पश्चिमी किनारा लहान नगरपालिकाको –२३ सखुवा नन्कारकटि गाउँपालिकाको ४ र ५ र भगवानपुर गाउँपालिकाको वडा नम्बर १ र २ मा जारी राखेको कटानले एक हजार बिघा उर्वर जमिन कटान गरेर सम्पन्न किसानहरु कति सुकुमवासी त कति सामान्य किसान भएका छन् । लहान–२३ तिलेबोना गाउँका मात्रै ५५ बिघा जमिनको लालपुर्जा घरमा र जग्गा खोलामा रहेको स्थानीय मुसहरु यादवले बताउनुभयो । 

उहाँका अनुसार गत वर्ष बाँसको टाटी र तटबन्धनको लागि क्रेटिङ गरे पनि कटान जारी रह्यो । हलुका बालुवा भउकाे पश्चिमी किनारा सुख्खा मौसममा पनि कटान गरिरहेको छ । यस वर्ष कटान रोक्न सकिएन भने पश्चिमतर्फका गाउँमा बाढी पस्ने खतरा देखिएपछि वडा कार्यालय लहान नगरपालिका र प्रदेश सरकारलाई गुहारेपछि एक करोड ४० लाख बजेट विनियोजन गरिए पनि पर्याप्त छैन । 

सङ्घ प्रदेश र स्थानीय तह लहान नगरपालिका सखुवानन्कारकटि र भगवानपुर गाउँपालिका संयुक्त रुपमा तटबन्ध गर्न करोडौं बजेट विनियोजन गरेमात्रै उर्वर हजार बिघा जमिन र पश्चिमी किनारामा रहेको तिलोबोना सिमराहा सखुवा र कल्याणपुरलाई सुरक्षित गर्न सकिने सखुवानन्कारकटि गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताउनुभयो । उहाँले भन्नुभयो, "लहान नगरपालिका र भगवानपुर गाउँपालिकासँग समन्वय भइ प्रदेश र सङ्घ सरकारसँग तटबन्ध निर्माण कार्यका लागि पहल थालेका छौं ।"

गोरखापत्र पत्रिकाले निरन्तर कटानको खबर प्रकाशित गरेपछि प्रदेश संघ र स्थानीय सरकारको ध्यान गएको लहान–२३ का वडाध्यक्ष बद्रीनारायण यादवले भन्दै विगतका वर्षमा वर्षाको समयमा तटबन्धनको लागि खर्चिने रकम प्रभावकारी नभएको अनुभव सुनाउनुभयो । यस वर्ष लहान नगरपालिका र प्रदेश सरकारले समयमै काम सुरु गरेपछि राहत हुने विश्वास जागेको उहाँले बताउनुभयो ।