• २५ पुस २०८१, बिहिबार

गीत–सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री

blog

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, फागुन १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताउनुभएको छ ।

मङ्गलबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उहाँको योगदान मुलुकका लागि महत्त्वपूर्ण रहेको स्मरण गर्नुभयो । उहाँले स्व. आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभएको थियो ।

प्रतिष्ठानमा बिहान ११ बजेदेखि शुभचिन्तक, गीत–सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारहरुबाट आचार्यप्रति श्रद्धाञ्जलि अर्पण चलिरहेको छ । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।


भजन शिरोमणि उपाधि पाउनुभएका उहाँको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो । आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।

गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत-सङ्गीत क्षेत्रमै हुनुहुन्छ ।

विसं १९९९ मा धनकुटामा जन्मिनुभएका आचार्यले चार सयभन्दा बढी गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ । नेपाली सुगम सङ्गीतमा उहाँको महत्त्वपूर्ण योगदान छ ।