• १३ असोज २०८१, आइतबार

आनीको जीवन प्रेरित ‘आनी छोइङ डोल्मा’

blog

काठमाडौँ, फागुन १४ गते । आनी छोइङ डोल्माको जीवनी प्रेरित वृत्तचित्र ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा देखाइने पहिलो चलचित्र भएको छ । महोत्सवका अध्यक्ष केपी पाठकले जेनिफर लिन र सान बाई निर्देशित वृत्तचित्र महोत्सवको उद्घाटनसँगै देखाइने चलचित्रका रूपमा रहने जानकारी दिनुभयो । 

आनीको साङ्गीतिक यात्रा, भिक्षु जीवन र समाज सेवालाई वृत्तचित्रले प्रस्तुतिको विषय बनाएको छ तर निर्देशक लिनले वृत्तचित्र आनीको स्वतन्त्रताको खोजीका रूपमा केन्द्रित रहेको बताउनुभयो । हङकङको सिटी युनिभर्सिटीमा आमसञ्चारकी प्राध्यापक लिनले आनीलाई सात वर्ष पछ्याएर यो वृत्तचित्र तयार गर्नुभएको हो । सन् २०१० मा गरिबीमा हुर्किएका बालिकाको शिक्षाका लागि आनीले स्थापना गरेको आर्यतारा स्कुलको भ्रमणपछि वृत्तचित्र बनाउने सोच पलाएको र यसको पाँच वर्षपछि काम थालेको लिनले बताउनुभयो ।

चैत १ देखि ५ गतेसम्म चल्ने चलचित्र महोत्सवमा यस वर्ष ४० देशका ८८ चलचित्र प्रदर्शन हुँदै छन् । प्रतिस्पर्धामा रहेका चलचित्रको प्रदर्शनसँगै महोत्सव अवधिभर चलचित्र निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तर्क्रियाका कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवमा प्रदर्शन हुने चलचित्र क्युएफएक्स सिनेमाका शाखाहरू सिभिल मल, लबिम मल, भक्तपुर र छाया सेन्टरका हलमा प्रदर्शन हुने छन् ।