• १३ असोज २०८१, आइतबार

मौलिक संस्कृति ताम्बाको प्रस्तुति

blog

काठमाडौँ, फागुन १३ गते । नेपाल तामाङ घेदुङको ६८ औँ स्थापना दिवसका अवसरमा शनिबार मौलिक संस्कृति ताम्बाको प्रस्तुति र सम्मान कार्यक्रमसहित मनाइएको छ । 

सो कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले छुट्टै, भाषा, लिपि र संस्कार मान्ने तामाङ समुदायलाई सांस्कृतिक प्रवर्धन र अधिकारका लागि एकताबद्ध गर्न सफल भएको बताउनुभयो ।  घेदुङको सचिव एवं चाडपर्व संयोजक बीना माम्बाले नेपालको जातीय, धार्मिक, भाषिक र संस्कारको विविधता नै यहाँको मौलिक विशेषता हुन् भन्दै पहिले समुदायमा मात्र अभ्यास हुने ल्होसारलगायतका पर्वको प्रवर्धनले सार्वजनिक स्थानमा ठुलो मेलाका रूप लिन थालेको बताउनुभयो । उहाँले बुद्धपूर्णिमा, साहित्य, भाषा, कलाको क्षेत्रमा योगदान दिनु भएका विभिन्न बौद्धिक व्यक्तित्वको स्मरण गर्दै नयाँ पुस्तालाई मातृभाषा, साहित्यको महìव बुझाउने कोसिस गर्दै आएको जानकारी पनि दिनुभयो । जापानका लागि पूर्वराजदूत गणेश योञ्जनले नेपाल तामाङ घेदुङको स्थापनाको लक्ष्य र उद्देश्यमा ६८ वर्षदेखि निरन्तर जुटेर तामाङ समुदायले प्रतिबद्धता देखाएको छ, भन्नुभयो । यसै गरी घेदुङका महासचिव जगत दोङ लामाले भाषा, कला र संस्कारको प्रवर्धनमा जुटेको सामाजिक संस्थाको उन्नतिका लागि देश विदेशमा रहनुभएका तामाङले योगदान दिइरहनुभएको बताउनुभयो।

घेदुङले प्राचीनकालदेखि समुदायमा अभ्यास भइरहेको ताम्बा संस्कृति, लामा, बोन्बो संस्कार, लिपि, डम्फु, टुङ्नाको प्रशिक्षणको समेत आयोजना गर्दै आएको छ । हाल स्थानीय सरकारको नीति अनुसार घेदुङको समन्वयमा विभिन्न स्थानीय तहमा तामाङ मातृभाषाको अध्यापन पनि सुरु गरिएको छ ।