अर्जुन कार्की
काठेखोला (बागलुङ), असार ५ गते । चालु आर्थिक वर्षको ११ महिनाको समयावधिमा बागलुङका एक सयभन्दा बढी उद्योग तथा फर्म खारेज भएका छन् ।
पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिङ्ग थापाका अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को असार पहिलो हप्तासम्म उद्योगतर्फ ४८ वटा र वाणिज्यतर्फ ७० वटा उद्योग तथा फर्म खारेज भएका हुन् ।
‘पछिल्लो समय उद्योग खारेजी गर्नेको सङ्ख्यामा वृद्धि हुँदैआएको छ’ प्रमुख थापाले भन्नुभयो, ‘चालु आर्थिक वर्षको ११ महिनामा उत्पादनमूलक, कृषि तथा वन्यजन्तु, पर्यटनमूलक, सेवामूलक लगायत उद्योगतर्फ ४८ र वाणिज्यतर्फ प्राइभेट र साझेदारी फर्म ७० गरी एकसय १८ उद्योग तथा फर्महरु खारेज भएका छन् ।’
लगतकट्टा (खारेज) का साथै नयाँ उद्योग तथा फर्महरु दर्ता पनि हुँदैआएको पर्यटन तथा उद्योग कार्यालय बागलुङले जनाएको छ । प्रमुख थापाले चालु आर्थिक वर्षमा विभिन्न प्रकृतिका नयाँ उद्योग ३७ वटा र वाणिज्यतर्फ ६१ नयाँ फर्म दर्ता भएको बताउनुभयो । उहाँले चालु आवमा चारसय ९ उद्योग र वाणिज्यतर्फ छसय १० फर्म नवीकरण भएको बताउनुभयो ।
वैदेशिक रोजगारी र निश्चित प्रयोजन र अनुदान प्राप्तका लागि उद्योग खोल्ने कारणले खारेजी हुने उद्योगको सङ्ख्या बढ्दो रहेको प्रमुख थापाको भनाइ छ । ‘वैदेशिक रोजगारीका लागि देश छाड्नेको सङ्ख्या बढेकाले उद्योग बन्द हुने सङ्ख्या बढ्दो छ’ उहाँले भन्नुभयो, ‘पछिल्लो समय व्यापारमा गिरावट र गर्न नसकेर उद्योग तथा फर्म बन्द गर्नुपरेको उद्योगी व्यापारीहरूले गुनासो गर्नुहुन्छ ।’
निश्चित प्रयोजनका लागि र अनुदान प्राप्त गर्नका लागि उद्योग तथा फर्म खोल्ने गरेकोले बन्द हुने अवस्था आएको प्रमुख थापाले बताउनुभयो । ‘सरकारले उद्योग तथा फर्महरुलाई विभिन्न अनुदान प्रदान गरेको छ । सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि अनुदान दिँदैआएका छन’ उहाँले भन्नुभयो, ‘अनुदान प्राप्त गर्नका लागि खोल्ने र पछि बन्द गर्ने अवस्था आउनेगरेको देखिन्छ ।’
कार्यालयले उद्योग दर्ता, नवीकरण र खारेजी गरेर चालु आर्थिक वर्षको ११ महिनामा ३४ लाख २० हजार एकसय २५ रुपियाँ राजस्व सङ्कलन गरेको छ । बागलुङमा चालु आर्थिक वर्षमा एकवटा पर्यटकस्तरीय होटलसमेत दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख थापाले बताउनुभयो ।