ढुङ्गे युगदेखि मानव समूहमा बसी प्राकृतिक विपत्तिसँग जुध्दै अनि अदृश्य शक्तिको आराधना गर्दै आयो । यसैबिच नायक, गणनायक, सम्राट्, ईश्वर, जात, धर्म आदिसम्बन्धी मान्यता जन्मिए । शासकीय एवं सम्भ्रान्तीय स्वार्थवश मानवीय चेतनालाई अलौकिक चेतना र परम्परित सोचभित्र बाँध्न धर्मको उत्पत्ति गरियो । यो एक जीवनशैली मात्र हो तर यसकै कारण विश्वमा मानवले विभेद, उत्पीडन, द्वन्द्व, विग्रह तथा अस्तित्व रक्षाका लडाइँ लड्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो । नेपाल भने किरातकालदेखि नै हिन्दु, बौद्ध, मुसलमान, शिख, क्रिस्चियन आदि धर्मावलम्बीको साझा कर्मभूमि बनी मौलिक/सांस्कृतिक समावेशितालाई जोगाउँदै आएको छ । यही हो हाम्रो गौरव र पहिचान ।
प्राचीन नेपालका राजा हिन्दु थिएनन् । मानदेवदेखि यस धर्मले राजकीय मान्यता पाएको इतिहासकारको तर्क छ । मदनमणि दीक्षितले जीवन : दर्शन रचनामा नेपाली राष्ट्रिय झन्डाको सम्बन्ध यस धर्मसँग नरहेको बताएका छन् । बेला बेला व्यापार, कलाकौशल आदि फरक सिप बोकेर गैरहिन्दु यहाँ छिरेको, सहज रूपमै जीवनयापन गर्दै आएको र राज्यबाट संरक्षण पनि प्राप्त भएको इतिहास हाम्रासामु छ । एक हजार वर्षसम्म भारतीय भूमिमा मुस्लिम राज्य र पछि हिन्दु राज्य रहँदा फरक धर्मी लखेटिँदा यहाँ तिनले संरक्षण पाएको सुनिन्छ । कतिपय धरोहरमा थान्का, मुगल शैली, इस्लाम मेमो यसैका प्रमाण हुन् । राणाकालमा आइपुग्दा हिन्दु बाहुल्य राष्ट्र बनिसकेको हुँदा धर्मकै आधारमा सत्ता टिकाउने खेल सुरु हुन्छ तर पनि अन्यप्रति असहिष्णु भने बनेको देखिँदैन । पछिको शाहकालीन शासन पनि राजा धर्मरक्षक भएर हिन्दुराष्ट्र घोषित गरियो । धार्मिक सहिष्णुता र शान्तिमा कुनै आघात आएन । यसरी हेर्दा नेपाली सांस्कृतिक मौलिकता समावेशी छ भन्ने मूल्य स्थापित भइरह्यो ।
नेपालीमा धार्मिक सन्तुलन देखिनुमा समानान्तर बुद्ध धर्मको उपस्थितिले पनि भूमिका निर्वाह गरेको छ । यसले फरक तर पूरक आध्यात्मिक तिर्खा मेटाई सहिष्णुतालाई फराकिलो पारेको हो । प्रजातन्त्रोत्तरकालीन राजनीतिक जागरण र भौतिकवादी चिन्तनको उपस्थितिले त झन् धार्मिक एकाधिकारवादलाई समावेशितातर्फ मोड्न निर्णायक भूमिका नै निर्वाह ग¥यो । धर्मसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता तथा लोकतान्त्रिक शासनमा धर्मको स्थानबारे चेतनशील समाजले धेरै विमर्श गर्न थाल्यो । न्यायपूर्ण, सहअस्तित्वमूलक र स्वस्थ सांस्कृतिक जागरण अभियानले आज नेपालले धर्मनिरपेक्ष समावेशी राज्य भनी संवैधानिक मान्यता पाएको छ ।
हामी निकट सांस्कृतिक सम्बन्ध रहेको भारतीय मनोविज्ञानसँग नेपाली धार्मिक समावेशिताको तुलना गर्न सक्छौँ । नेपालमा राणकालीन र शाहकालीन नेपाली राजनीतिले धर्मलाई शासन शक्तिको मुख्य आधार मान्यो । व्यवस्थासँग धार्मिक सापेक्षता जोडिन पुग्यो । भारतीयमा उपनिवेशवादी पराधीनताबाट मुक्ति अनि हिन्दुत्वको जागरणको भोक थियो । अङ्ग्रेज धर्म विस्तारमा भन्दा बढी प्राकृतिक स्रोत र उत्पादनमाथि अधिकार जमाउन चाहन्थे । उनीहरूको भौतिकवादी सोचले धर्मलाई चलाउन आवश्यक ठानेन । नेपालमा भने धार्मिक अतिवाद निरङ्कुश बन्दै गएकाले व्यवस्थासँगै धर्म पनि अलोकप्रिय बन्न पुग्यो । उता उदारवाद पसेर धार्मिक अतिवादलाई खासै असर पारेन । यता धर्मलाई राजनीति बनाइँदा अतिवाद धरमरायो । यसरी फरक पृष्ठभूमिमा दुवैतिरको समावेशी धार्मिक मनोविज्ञानको तुलना गर्न सकिन्छ ।
आज नेपाली मौलिक सांस्कृतिक समावेशिताको अभ्यासको चरणमा छन् । नारी, दलित, जनजाति, मधेशी आदिको संविधानप्रदत्त सांस्कृतिक अधिकारको मसी नसुक्दै कलिलो बिरुवा उखेल्न धर्मलाई चलाउन खोजिएको वर्तमान अवस्थालाई पनि नेपालीले बुझ्न थालेका छन् । ठिकविपरीत भारतीय शासक जनमनोभावना बदल्न नसकी राजनीतिको धर्ममा विलयीकरणमा पुगेका छन् । यसलाई बुझ्न भारतीय प्रजातन्त्रोत्तरकालीन इतिहास हेर्नुपर्ने हुन्छ । स्वाधीनता प्राप्तिसँगै त्यहाँको धर्मनिरपेक्षता गान्धीको हत्यासँगै धरमराउन पुग्छ । पश्चिम र पूर्वी भारत टुक्रिएर अलग धार्मिक राष्ट्र बनेका छन् । कस्मिर विवाद चुलिँदो छ । धार्मिक दङ्गा भइरहन्छन् । बाबरी मस्जिद भत्काइँदा हिंसा भड्किएको छ । भारत भूमि मेरो पनि हो भन्ने आवाजलाई धर्मको पर्खालले रोकिदिएको छ । प्रतिशोध बढ्दा स्थायी शान्तिको परिकल्पना गर्न सकिँदैन । १९५२ मै गरिएको धर्मनिरपेक्ष घोषणाले हिंसालाई मात्र बढावा दिएको देखिन्छ । त्यहाँ धार्मिक समन्वय र निरपेक्षता पक्षधर कमजोर बन्दै गएको अवस्था छ । यसैले नाागरिक चेतना, लोकतान्त्रिक व्यवस्था र शान्ति स्थापनामा नेपाल धेरै अगाडि देखिन्छ ।
वर्तमान भारतीय शासनलाई त धर्मले पूरै ढाकिदिएको छ । धार्मिक समन्वय, उदारता र समावेशिताको बहस देखावटी मात्र छ । क्रिस्चियन जस्ता केही धर्मबाहेक धेरैजसोको जन्म एसियामै भएको र ती आदिवासी रहेको इतिहासको तर्क भारतीय एकल समाजले ग्रहण गरेकै छैन । बहुलताको अभ्यास गराउनुको सट्टा शासक जनतालाई यथास्थितिमै छाडेर सदावहार बन्न खेजिरहेछन् । समाजको चलायमान गति, धार्मिक अन्तर्घुलन, बहुलता जस्ता समाज परिवर्तनका शाश्वत मान्यता ग्रहण गर्न छाडी निहित स्वार्थमा लाग्दा अधिनायकवादको जन्म हुन सक्छ । राज्यको भौतिक सम्पन्नता त क्षणिक हो । स्थायी समृद्धिको आधार त धार्मिक सहअस्तित्व र समन्यायिकतामा छ । तसर्थ जनचेतनाको स्तर उठाउन समावेशितालाई आधार बनाउनै पर्छ ।
समान सांस्कृतिक धरातल, मित्रवत् सम्बन्ध र विगतका घटनाव्रmमलाई नियाल्दा पनि दुई देशको तुलना अझै गर्नुपर्ने हुन्छ । ऋषिमुनिका तपस्या, तीर्थयात्रीका भ्रमण अनि स्वाधीनताका सङ्घर्षले पनि यी देशलाई नजिक ल्याउँछ । आज पनि दिल्लीमा पानी परे नेपालमा छाता ओड्छन् भन्ने लोकोक्ति बनेको छ । रोटीबेटीको सामाजिक व्यवहार र कूटनीतिक आगमनको राजनीतिक सौदाबाजीले दुवैलाई मित्रवत् सम्बन्धमा जोड्दै ल्याएको छ । यसैले होला, भर्खर सम्पन्न जनवरी २२ को सीतारहित रामको प्राणप्रतिष्ठाले नेपालीमा उत्साह थपेको । सँगै प्राणहीन राजतन्त्रको प्रतिष्ठा गर्दै दैवी शक्तिको आह्वान र मुक्तिको मार्ग खोज्ने प्रयास भएको । यसरी धर्मलाई चलाएर अरूको सिको गर्नुभन्दा हाम्रै चाड, अनुष्ठान, धरोहर आदिको उन्नयनमा लाग्दा राम्रो हुन्थ्यो कि ! यस्तो देखासिकी र मागेको रोटी क्षणिक हुन्छन् । हामीले त धार्मिक समावेशिता विश्वलाई सिकाउन सक्छौँ ।
अध्यात्म, योग, आयुर्वेद जस्ता कालजयी मन्त्र हामीले धर्मबाट नभई दर्शनबाट सिकेका हौँ । दर्शनले हामीलाई हरेक कुरामा प्रश्न गर्न, प्रमाण खोज्न र तार्किक निष्कर्षमा पुग्न प्रेरित गर्छ । यो त मानवको जीवनदर्शन वा भौतिक उन्नयनको स्रोत हो । धर्म त बोधो हुन्छ । साँघुरो परिधिलाई अनुसरण गर्ने होइन, यसलाई प्रत्येक मानवको जीवनसँग जोडेर हेरौँ । आजको धार्मिक पर्यटन, अनुष्ठान, महादान, सन्तमहन्तको त्याग आदि कुरा सर्वे भवन्तु सुखिनः नै हो । त्यसैले असल काम गर्न धर्मको जलप लगाउनै पर्दैन । धार्मिक समावेशिताबाटै आर्थिक समृद्धिको मार्ग खुल्छ, विचलित हुनु पर्दैन ।
भारतीय वर्तमान सत्ता धर्मलाई नै वर्गशत्रु ठान्छ । उनीहरूको मन्त्र नै हिन्दु राष्ट्रवाद हो । कार्यकारीमा पुग्दा जनभावनाको सम्बोधन गर्नु बेठिक होइन । कुनै दिन धर्मसापेक्ष मान्यताले संवैधानिक हैसियत प्राप्त गरे पनि अनौठो मान्नु पर्दैन । हाम्रो पृष्ठभूमि फरक छ । दुःखको कुरा पार्टीका जिम्मेवार नेता र एकाध दल नै सापेक्षताको वकालतमा ओर्लिएका छन् । पूर्वराजा नागरिक अभिनन्दनमा हौसिएका छन् । यो त काम कुरो एकातिर... भने जस्तै हो । हामीले चाडपर्व, मठमन्दिर, कला साहित्यमा धर्मको सीमा भत्काउँदै आएका छौँ । हामी गोरखनाथ बाबा, नरहरिनाथ योगी, प्रपन्नाचार्य स्वामी आदिका समतामूलक मौलिक चिन्तनबाट दीक्षित छौँ । राजनीति सङ्लो, सर्वप्रिय र युगानुकूल बनाउन लाग्दै छौँ । उच्च मानवीय मूल्य स्थापित गरी शान्ति र सद्भाव प्रस्तुत गर्दै छौँ । अग्रगमनबाट जनतालाई जगाउँदै साझा संस्कृति र अथाह प्रकृतिलाई जोडेर समृद्धिको बाटोमा लम्कँदै छौँ ।
एउटा बुझ्नैपर्ने अर्को कुरा हो– भूराजनीति । छिमेकीलाई आश्रित, अनुकूल र दुर्बल बनाइराख्नु आजको कूटनीति हो । फेरि ससर्त र वाचायुक्त सहयोगबाट अनुगृहित भइरहनु छिमेकीप्रतिको भक्ति हो । भलै हामीले राजनीतिक र आर्थिक रूपमा भोग्दै आएको नियति सांस्कृतिक क्षेत्रमा झेल्नु परेको छैन तर अबका दिनमा भने सचेत रहनै पर्छ । धन र यौनले महान् तपस्वीलाई त धुलीसात पारेको छ भने विचरा हाम्रा रामबहादुर बम्जन कसरी अछुत रहन सक्थे र !
यस्तै अस्त्र प्रयोग हुन थाले भने को धर्मगुरु, को नेता वा को अभियन्ता सबै विवादित बन्ने छन् । कुनै पनि बेला हामीले नछोएको धार्मिक बहस उछालिन सक्छ । नेपालगन्ज, बारा, धनुषा आदिका द्वन्द्वका झिल्का फैलन सक्छन् । त्यसैले नकोट्याउनु र नबहकिनु नै वेश हो । यसैले देशवासीको भावना र बौद्धिक उचाइको उच्च सम्मान गर्दै न्यायपूर्ण मौलिक सांस्कृतिक रूपान्तरण र धार्मिक समावेशितामा टेकेर सनातन मानवीय मूल्यको खोजी गर्नुको विकल्प नेपालीसँग छैन ।