• १३ साउन २०८१, आइतबार

शीतभण्डार निर्माण हुन थालेपछि किसान उत्साहित

blog

भजनी (कैलाली), फागुन ११ गते । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा शीतभण्डार निर्माण गर्न थालेको छ । 

एकाइ र उपभोक्ताको लगत तथा सहभागितामा शीतभण्डार निर्माण हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । संयुक्त प्रयासमा शीतभण्डार निर्माण थालिएको भन्दै किसानले उत्पादन गरेका वस्तु टाढाका बजारसम्म पुर्‍याउनुपर्ने बाध्यताको अन्त्य हुने रामबहादुर चौधरीले विश्वास व्यक्त गर्नुभयो । 

“बीउका लागि उत्पादन भएका वस्तु घरमा राखेर सम्भव हुँदैन । यसअघि शीतभण्डारमा लगेर राख्दा निकै महँगो हुने गरेको थियो”, उहाँले भन्नुभयो, “टीकापुरमै शीतभण्डार निर्माण भएपछि यहाँका किसानलाई फाइदा पुग्नेछ ।” योसँगै उत्पादन भएका तरकारीले राम्रो बजार पाउने विश्वास बढेको उहाँको भनाइ थियो ।

टीकापुरका लक्ष्मण चौधरीले सिजनमा उत्पादन भएका भण्डारण गरी बजारीकरण गर्न सकिने भन्दै यसबाट सिजनमा उत्पादित तरकारी तथा फलफूलले राम्रो बजार पाउने बताउनुभयो । “सिजनमा ३०–३५ क्विन्टल आलु उत्पादन हुन्छ । प्याज पनि त्यस्तै उत्पादन हुने गरेको छ”, उहाँले भन्नुभयो, “त्यो समयमा बजारको मूल्य निकै कम हुँदा लागत उठाउन समस्या हुन्छ । शीत भण्डारमा भण्डारण गरेर पछि बिक्री गर्दा प्रशस्त आम्दानी लिन सकिन्छ ।”

एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि २५ प्रतिशत किसानले लगानी गर्नेछन् भने बाँकी ७५ प्रतिशत कार्यान्वयन एकाइले गर्ने जनाएको छ । टीकापुर र लम्कीचुहा नगरपालिका तथा जानकी गाउँपालिका किसानले यसबाट लाभ लिन सक्ने छन् । करिब सात करोड छ लाख ६९ हजार छ सय को लागतमो रानीजमरा कुलरीया मूल कुलो समितिको मातहतमा रहने गरी शीत भण्डार निर्माण गरिने समितिका अध्यक्ष कुमारराज शाहीले जानकारी दिनुभयो ।

“यस आयोजनामा अधिकांश किसानको लगानी छ । किसानको लगत सहभागितामा शीतभण्डार निर्माण हुँदा त्यसको बढीभन्दा बढी फाइदा किसानले लिन सक्छन्”, अध्यक्ष शाहीले भन्नुभयो, “अधिकांश किसानको लगानी भएकाले यसको संरक्षण र संवर्द्धनमा किसान स्वयमं अग्रसर रहन्छन् ।” उहाँका अनुसार शीतभण्डारमा केही कृषि सहकारीले पनि शेयर लगानी गरेका छन् । किसानबाट समयमा लागत सङ्कलन हुन नसक्दा तीन वर्ष एकाइले विनियोजन गर्दै आएको करिब छ करोड बजेट फ्रिज हुने गरेको थियो । 

अहिले किसानको पूर्ण सहयोगमा शीतभण्डार निर्माणले सार्थकता पाउन लागेको कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख कलशराम चौधरीले बताउनुभयो । “शीतभण्डारको ठेक्का सम्झौता भइसकेको छ । विश्व बैंकका प्रतिनिधिले यसको अनुगमन समेत गरिसक्नुभएको छ”, उहाँले भन्नुभयो, “अनुगमनबाट आएको प्रतिवेदन अध्ययन गरेर बाँकी काम अगाडि बढाउने तयारी भएको छ ।” प्रमुख चौधरीका अनुसार आगामी डिसेम्बर १५ भित्र शीतभण्डार निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । शीतभण्डार निर्माण भएपछि व्यावसायिक कृषि गर्दै आएका किसानलाई सहज हुने उहाँको भनाइ थियो । 

“राज्यले कृषि क्षेत्रका लागि अर्बौको लगानी गरेको छ । उत्पादनका लागि ठूलो खर्च हुँदा बजारीकरणमा शीतभण्डारले सहजीकरण गर्नेछ”, प्रमुख चौधरीले भन्नुभयो, “किसानले मौसममा उत्पादन गरेका वस्तु बेमौसममा राम्रो मुल्यमा बिक्री गर्न शीत भण्डारले मद्दत गर्नेछ ।” किसानबाट लागत रकम सङ्कलन हुन नसक्दा अपुग रकम टीकापुर नगरपालिकाले उपलब्ध गराएपछि निर्माण प्रक्रिया अगाडि बढेको थियो । 

कृषि र पर्यटन क्षेत्र प्रमुख स्रोतका रुपमा रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा नगरपालिकाको सदैव सहयोग रहने नगर प्रमुख रामलाल डगौरा थारुले बताउनुभयो । “हाम्रो प्राथमिकता कृषि र पर्यटन क्षेत्रमा छ । कृषिबाट टीकापुर नगरपालिकालाई समृद्ध बनाउन सकिन्छ”, उहाँले भन्नुभयो, “यसमा रानी जमरा कुलरीया सिँचाइ आयोजनाको अर्बौ लगानी छ । अन्य क्षेत्रले पनि समन्वय गरिरहेका बेला पालिकाले किसानलाई उत्साहित बनाउने कार्यक्रम ल्याएको हो ।”

उन्नत बीउ उत्पादनका लागि कार्यान्वयन एकाइ र नगरपालिकाको सहजीकरणमा संयुक्त योजना बनाएर काम गर्ने सहमति भएको छ । साथै किसानलाई चाहिने उन्नत जातका बेर्ना उत्पादन गरेर वितरण गरिने नगर प्रमुख थारुले जानकारी दिनुभयो । “टीकापुर क्षेत्रमा उत्पादन राम्रो भए पनि बजारीकरणको समस्या थियो”, उहाँले भन्नुभयो, “शीतभण्डार निर्माण भएपछि बजारीकरणको समस्या पनि हट्दै जानेछ ।” रासस