• १३ साउन २०८१, आइतबार

सङ्घीयता बलियो बनाउन सबै लाग्नुपर्छ : सभामुख भण्डारी

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सुदूरपश्चिम सभाका सभामुख भीमबहादुर भण्डारी । तस्विर– भवानी ऐर

भवानी ऐर

गोदावरी (कैलाली), फागुन ९ गते । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले लोकतान्त्रिक सङ्घीय गणतन्त्र बलियो पार्न सबैले आ–आफ्नो तप्काबाट कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभएको छ । 

राष्ट्रिय समाचार समितिको ६३ औँ वार्षिकोत्सवको अवसरमा धनगढीमा आयोजित ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रियामा बोल्दै भण्डारीले कानुनी दस्ताबेजमा मात्र सङ्घीयता उल्लेख गरेर सङ्घीय व्यवस्था बलियो नहुने बताउनुभएको हो । 

समय र अवस्थालाई नजरअन्दाज गरी जनअपेक्षाअनुसार काम गर्न नजान्दा अदालत र अख्तियारजस्ता न्यायिक निकाय पनि बारम्बार जनताको नजरमा चुक्नेगरेको उदाहरण दिँदै कतिपय सन्दर्भमा विकासको बाधक बनेको जिकिर गर्नुभयो ।

‘अदालतमा मुद्दा पर्छ स्टेअर्डर आउँछ, अख्तियारले छानबिन अघि बढाउँदा कामहरू प्रभावित हुन्छ । सरकारले गरेका हरेक निर्णयमा पर्ने उजुरीमा अदालतले निकास नदिई काम गर्न रोक्छ’ उहाँले भन्नुभयो, ‘अदालतले जुन ठाउँमा समस्या हो, त्यसमा प्रष्ट भन्नुपर्छ । खाली स्टेअर्डर जारी गरेर सरकारलाई काम गर्नबाट रोक्नु हुँदैन । निकाससहितको फैसला अदालतले दिनुपर्छ ।’ 

गत वर्ष सर्वोच्चको स्टेअर्डरकै कारण ३५ अर्ब बजेट फ्रिज गएको चर्चा गर्नुहुँदै सभामुख भण्डारीले भन्नुभयो, ‘सरकारले काम गर्दा मुद्दा पर्ने तर, त्यो मुद्दाको सुनुवाइ गर्न वषौँ लाग्छ । कहाँबाट समयमै विकास हुन्छ, अदालत तथा अख्तियारले हात हालिसके पनि समयमै निर्णय गर्नुपर्छ ।’ 

उहाँले अहिले नेतादेखि आम नागरिक आफ्नो जिम्मेवारीबाट पन्छिने काम भइरहेको बताउँदै उहाँले भन्नुभयो, ‘जिम्मेवारीबाट पन्छिएर कुनै पनि समस्याको समाधान हुन सक्दैन् ।’ सभामुख भण्डारीले देश सङ्घीयतामा गइसकेकाले सरकारका प्रशासनिक निकायहरू पूर्णरुपमा सङ्घीयतामा जान नसकेको बताउनुभयो । 

सङ्घीयतालाई बलियो बनाउन सबैले आफ्नो ठाउँबाट जनताप्रति उत्तरदायी हुनुपर्ने उहाँको भनाइ छ । सोही कार्यक्रममा सुदूरपश्चिमका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले सुशासन र समृद्धिका लागि पत्रकारको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । प्रदेशसभा सदस्य प्रकाश बमले मिडिया राष्ट्रको चौथो अङ्ग मानिएको उल्लेख गर्दै राज्य सञ्चालनका सम्पूर्ण निकायलाई सुसूचित गराउन सत्यतथ्य समाचार मात्र लेख्न आग्रह गर्नुभयो । 

कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सञ्चार माध्यमले सत्यतथ्य सूचना दिनुपर्ने बताउनुभयो ।