• १३ साउन २०८१, आइतबार

बाजुरामा वर्षासँगै पुनः हिमपात

blog

वर्षासँगै हिमपात । फाइल तस्बिर

बाजुरा, फागुन ८ गते । वर्षासँगै बाजुराको माथिल्लो भेगमा हिमपात भएको छ । छ महिनापछि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । पूर्वी-उत्तरी भेगको हिमाली गाउँपालिकाको बिच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ । 

यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तडछेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा हिमपात भएको हो । बेँसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । सोमबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको हिमपातले जनजीवन कष्टकर समेत बनाएको छ । बडीमालिका, बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकालगायतका उच्च हिमाली क्षेत्र यस वर्ष बल्ल सेताम्मे बनेका छन् । 

वर्षा र हिमपातपछि वस्तुभाउलाई घाँस तथा दाउराको समेत समस्या भएको स्थानीयले बताएका छन् । चिसोसँगै हिमपात भएपछि विद्यार्थीलाई आवतजावतमा समस्या हुँदा विद्यालयको पठनपाठन प्रभावित भएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने वर्षासँगै हिमपात भएपछि खुसी भएका छन् । सिँचाइको सुविधा नहुँदा गहुँबाली लगाए पनि सुक्न थालेका समयमा वर्षा र हिमपात हुँदा किसान खुसी भएका हुन् । हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइएका विभिन्न बालीलाई फाइदा पुगेको बडीमालिका नगरपालिका-३ रजालीका कमल रावलले बताउनुभयो । 

वर्षाले विभिन्न अन्नबाली, फलफूल र तरकारीलगायत किसानलाई फाइदा पुग्ने जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैशीले बताउनुभयो । हिमपातका कारण बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तह जोड्ने मार्तडी कोल्टी सडकखण्डमा चल्ने जीप सेवा प्रभावित भएको छ । रासस