• १३ असोज २०८१, आइतबार

राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा अर्चना

blog

काठमाडौं, फागुन ६ गते । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडाैं शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा पौष शुक्ल पूर्णिमादेखि जारी श्रीस्वस्थानी व्रतकथा अन्तर्गतकाे माधवनारायण मेलामा आइतबार सहभागी हुनुभयो । 

सो अवसरमा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवम् पूजा अर्चना गर्नुभयो । साथै उहाँले शालीनदीमा जल अभिषेक गर्नुभयो । राष्ट्रपति पौडेलले वज्रयोगिनी मन्दिरमा समेत दर्शन एवम् पूजा अर्चना गर्नुभयो । 

वज्रयोगिनी मन्दिर पुग्नुहुँदा शङ्खरापुर ८ का वडाध्यक्ष पोटे थिङ र ४ का वडाध्यक्ष सुनाबहादुर तामाङलगायत स्थानीयवासीले स्वागत गर्नुभएको थियो । "सो अवसरमा राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको वज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु मेरा लागि खुशीको विषय हो", भन्नुभयो । 

उहाँले भृकुटी र स्रङचङगम्पोसँगको ऐतिहासिक महत्व जोडिएको वज्रयोगिनी  र धार्मिक एवम् ऐतिहासिक महत्वको शालीनदी क्षेत्रको विकासको लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । सांसद र नगरप्रमुख एवम् उपप्रमुखलगायतका जनप्रतिनिधिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको क्षेत्र भए पनि वज्रयोगिनी मन्दिर भग्नावशेषको अवस्थाका रुपमा रहेको, शालीनदी क्षेत्रको विकास हुन नसकेको, पुनर्निर्माणका कामले गति लिन नसकेको र कतिपय विकासका काम अधुरै रहेको गुनासो गर्नुभयो । उहाँहरुले राष्ट्रप्रमुखको भ्रमणपछि पुनर्निर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास व्यक्त गर्नुभयो । 

राष्ट्रपति पौडेल शालीनदी पुग्नुहुँदा उहाँलाई सांसदद्वय सोविता गौतम र प्रतिमा गौतम, नवनिर्वाचित राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी, नगरप्रमुख, उपप्रमुख, माधवनारायण मेलाका संयोजक बालकृष्ण श्रेष्ठलगायत स्थानीयवासीले स्वागत गर्नुभएको थियो । सांसदहरुले शालीनदीमा राष्ट्रप्रमुख पहिलोपटक आएकोमा स्थानीय बासिन्दा अत्यन्त हर्षित भएको बताउनुभएकाे छ ।