रवीन्द्र उप्रेती
बर्दीबास, फागुन ५ गते । सीमावर्ती गाउँपालिका समसी–२ स्थित पर्सा गाउँमा हवाई फायर भएको छ । शनिबार अपराह्न सो गाउँमा दुई पक्षबिच झडप हुँदा प्रहरीले हवाई फायर गरेको हो ।
पर्सा गाउँमा शनिबारदेखि सुरु भएको महावीर भण्डा मेलाको कलश यात्राका क्रममा तनाव चर्केपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलाले बताउनु भयो ।
झडपका क्रममा एक जना प्रहरी जवानसहित तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीकाअनुसार कलश यात्राका क्रममा डिजे बजाउने र बजाउन नदिने विषयमा विवाद भएको थियो । आक्रोसित समूहले पूर्व गाउँपालिकाका अध्यक्ष सेख अनवारुल हकको ज ३ प ७९६ नम्बरको मोटरसाइकलमा आगजनी गरको प्रहरीले जनाएको छ ।
अहिले स्थिति सामान्य भएको र दुवै पक्षका प्रतिनिधिलाई छलफलका लागि जलेश्वरस्थित प्रशासन कार्यालयमा झिकाएको जिल्ला प्रहरीका डिएसपी तथा सूचना अधिकारी दीलिप गिरीले बताउनु भयो ।