• १३ असोज २०८१, आइतबार

संगीतका साधकलाई नागरिक अभिनन्दन

blog

बिशाल सुनार 

दुल्लु, फागुन ३ गते । “अग्रजलाई सम्मान, नव आगन्तुकलाई प्रोत्साहन” भन्ने मूल नारा सहित दैलेखमा अग्रज कलाकार मोहन गौतमलाई नागरिक अभिनन्दन गरिएको छ । सङ्गीत र साधनामै पूरा जीवन समर्पण गर्नुभएका उहाँलाई दैलेख बजारमा अभिनन्दन गरिएको हो । 

नेपाली लोक गीत सङ्गीतको क्षेत्र सहित सामाजिक जीवनमा पुर्‍याउनुभएका योगदानको कदर गर्दै नागरिक अभिनन्दन तथा आजीवन उपलब्धि पुरस्कार सम्मान २०८० समेत प्रदान गरिएको छ । 

न्यु ज्वाला क्लब दैलेखको आयोजनामा गौतमलाई सम्मान तथा अभिनन्दन गरिएको हो । सम्मान सहित नगद रु ११ हजार १ सय ११ रुपियाँ सहित आजीवन उपलब्धि पुरस्कार समेत प्रदान गरिएको छ। सम्मान पत्र प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्ला अधिकारी भुसालले दैलेखको पहिचानलाई उँचो राख्न गौतमको भूमिकाको प्रशंसा गर्नुभयो । 

कला संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि स्थापना भएको क्लबले स्थापनाको ३० औँ वर्ष पुरा गर्दैगर्दा विगत तीन वर्षदेखि गीत सङ्गीतको क्षेत्रमा योगदान पुर्‍याउन व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ । गौतमभन्दा पहिले बाध्यवाधक लक्ष्मण नेपाली, कलाकार तथा नृत्यकार दल बहादुर श्रेष्ठलाई यो सम्मान प्रदान गरिसकेको छ । सोही शृङ्खलाको निरन्तरता स्वरूप तेस्रो आजीवन उपलब्धि सम्मानबाट २०८० बाट गौतम सम्मानित हुनुभएको क्लबले जनाएको छ ।

उमेरले ७४ वर्ष पुरा गर्नुभएका गौतमको सङ्गीत साधना र समाजसेवाको कुण्डमा तन, मनको हवन गर्दै वर्षौँ बिताउनुभएका उहाँको जीवन प्रेरणादायी छ । वि.स २०२४ सालमा भारतको बनारसस्थित हिन्दु विश्वविद्यालयबाट संगीतमा उच्च शिक्षा हासिल गरेपश्चात् निरन्तर सङ्गीत साधनामा हुनुहुन्छ । वि.स. २०५१ सालमा रेडियो नेपालले आयोजना गरेको क्षेत्रीय लोकगीत सम्मेलनमा उनको गीत सर्वोत्कृष्ट बनेको थियो । आफ्नै धर्मपत्नी उत्तरादेवी गौतमको शब्द संयोजनमा उहाँले गाएको गीत “के भाउ छ घरबेटी आमा, दाना सुपारीलाई रानी महलैमा” गीत स्रोत माझ अहिले पनि उत्तिकै लोकप्रिय छ । 

उहाँको २०६४ मा यात्रा साङ्गीतिक नामक एकल गीति एल्बम सार्वजनिक रहेको छ । एल्बममा काँधमा कोदाली बोकेर, लैजान्छु लैजान्छु, बनमा बसी नरोए न्याउली, हिमालको काखबाट, नजिकबाट लाज लाग्छ जस्ता गीतहरू समेटिएका छन् । 

गौतमले आफूले सिकेको ज्ञान पुस्तान्तरण गर्ने सोच बनाएर २०७३ सालमा पञ्चकोशी ललितकला केन्द्र नामक संस्थाको स्थापना गर्नुभएको छ । हाल स्थानीय निजी विद्यालयमा संगीतमा रुचि राख्ने विद्यार्थीहरूलाई सिकाउँदै 

करिब छ दशक लामो सङ्गीत यात्राको मूल्याङ्कन गर्दै शास्त्रीय सङ्गीत समाज काठमाडौँले २०७६ मा कर्णाली प्रदेशको संयोजकको जिम्मेवारीमा समेत रहनुभएको छ ।