• २१ वैशाख २०८१, शुक्रबार

समावेशी राज्यको चरित्रलाई सरकारी निकायले अनुसरण गर्नुपर्छ : सञ्चार सचिव सुवेदी

blog

रेडियो नेपालद्वारा अयोजित विश्व रेडियो दिवसको अवसरमा बज्जिका भाषा प्रसारण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदैृ सञ्चार सचिव रामकृष्ण सुवेदी । तस्बिरः कबिता थापा

काठमाडौं, फागुन १ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् रेडियो प्रचार सेवा विकास समितिका अध्यक्ष रामकृष्ण सुवेदीले समावेशी राज्यको चरित्रलाई सरकारी निकायले पनि अनुसरण गर्नुपर्ने बताउनुभएको छ ।

रेडियो नेपालमा बज्जिका भाषाको समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ गर्नुहुँदै अध्यक्ष सुवेदीले उक्त कुरा बताउनुभएको हो । विश्व रेडियो दिवसका अवसर पारेर रेडियो नेपालले आजदेखि बज्जिका भाषामा समाचार तथा कार्यक्रम प्रसारण सुरु गरेको हो ।

चौबिसै घण्टा प्रसारण हुँदै आएको रेडियो नेपालले यसअघि २१ भाषामा समाचार तथा २० भाषामा कार्यक्रम प्रसारण गर्दै आएको छ । मधेश प्रदेशका रौतहट, बारा र सर्लाहीलगायत जिल्लामा बज्जिका भाषा बोल्ने समुदायको बाक्लो उपस्थिति रहेको छ ।

पछिल्लो जनगणनाअनुसार नेपालमा बज्जिका भाषा बोल्ने नागरिकको सङ्ख्या करिब ११ लाख ३३ हजार रहेको छ । मधेश प्रदेशमा मैथिली र भोजपुरीपछि धेरै बोलिने भाषाका रूपमा बज्जिका रहेको छ । बज्जिका नेपालमा धेरै बोलिने भाषाको सूचीमा छैटौँ स्थानमा छ ।


यसैगरी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले स्थानीय भाषाबाट समाचार र कार्यक्रम सम्प्रेषण गर्दा सञ्चारमाध्यमप्रति स्थानीयको अपनत्व बढ्ने बताउनुभयो । राष्ट्रिय समाचार समिति (रासस) कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राज्यले सबै भाषाको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले भाषा, विषयवस्तु र जनशक्तिमा समावेशी सञ्चारमाध्यमको नमुनाका रूपमा रेडियो नेपाल रहेको बताउनुभयो ।

तीन वटा प्रसारण केन्द्रसहित हाल सातवटै प्रदेमा प्रादेशिक प्रसारण कार्यालय र ३२ एफएम रिले स्टेसनबाट रेडियो नेपालले देशभर प्रसारण सेवा विस्तार गरेको छ ।

रेडियो नेपाल ९३ प्रतिशत जनताको पहुँचमा पुगेको कार्यकारी निर्देशक केसीले जानकारी दिनुभयो । रेडियो नेपालको पहुँच शतप्रतिशत भूभाग र नागरिकमाझ पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको रेडियो नेपालले जनाएको छ ।