• १३ साउन २०८१, आइतबार

आरन व्यवसाय सङ्कटमा

blog

आरन व्यवसाय गरिरहेका विश्वकर्मा समुदायका नागरिक । तस्बिर : रामबहादुर विक

मार्तडी समाचारदाता

मार्तडी, फागुन १ गते । बाजुरामा आरन व्यवसाय सङ्कटमा परेको छ । यो व्यवसायबाट जीविका चलाउँदै आएका विश्वकर्मा समुदायको पुर्खौली पेसा आरन सङ्कटमा परेको हो । बडीमालिका नगरपालिका–७, जिल्लीका ६० वर्षीय अङ्गे लोहार २० वर्षदेखि आरन व्यवसाय गर्दै आउनुभएको छ । उहाँको २० वर्षको आरन व्यवसायको अनुभव र मेहनतको काम हेर्दा कमाइ भने निकै कम छ । 

लोहारले पाँच वर्षयता कैलाश आरन व्यवसाय दर्ता गरेर सञ्चालनमा ल्याएका छन् । मार्तडी–कोल्टी सडकखण्डको छेउमा आफ्नै लगानीमा आरन व्यवसाय गर्ने घरसमेत निर्माण गर्नुभएको छ । पछिल्लो समयमा व्यवसाय लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै “युवापुस्ता आरनसम्बन्धी सिप सिक्न छाडेर विदेशतिर लागे, गाउँमा बसेर पुरानो पेसा सम्हाल्ने नहुँदा आरन व्यवसाय झन् हराउँदै गएको लोहारले बताउनुभयो ।

हिजोआज सबैले यो पेसा छाड्दै गए पनि आफूले सकुन्जेलसम्म व्यवसायलाई निरन्तरता दिने उहाँले बताउनुभयो । यो पेसामा मेहनत अनुसारको कमाइ नभए पनि पुर्खाको पालादेखि गरेर आएको व्यवसायलाई लोप हुन नदिने उहाँको अठोट छ । घरमै बसेर आरन व्यवसाय गरेर एक महिनामा २० हजारसम्म कमाउन सकिन्छ, यसले आफ्नो आठ जनाको परिवारको जेनतेन जीविका चलाइरहेको उहाँले बताउनुभयो । उहाँले आसी (हँसिया), कुटो, कोदालो, बन्चरो र विभिन्न किसिमका मूर्तिसमेत हातले बनाउने गर्नुहुन्छ । ती सामग्री बनाएबापत कोहीले एक पाथी खलो (अन्न) दिने गरेको पाइन्छ । 

लोहारका अनुसार हातले कुँदेर बनाइएको कोदालो, बन्चरो साइज हेरेर २५० देखि पाँच सयसम्ममा बिक्री गर्ने गरेको छ । गाउँघरमा कोइलाको अभाव र यसप्रति स्थानीय तहले चाँसो नदेखाउँदा आरन व्यवसाय चलाउन समस्या परेको छ । सोही नगरपालिकाका ५० वर्षीय काशी विक पनि आरन व्यवसाय गर्दै आउनुभएको छ । विकले यो व्यवसाय लामो समयदेखि सञ्चालन गर्दै आउनुभएको छ । 

उहाँले पनि यो व्यवसायमा मेहनत बढी लाग्ने तर दाम कम हुने गरेको बताउनुभयो । काम गरेबापतको आम्दानी नभएपछि त्यसपछि आकर्षण घट्दै गएको उहाँको भनाइ छ । सिराडीका नरेन्द्र विकले आरन व्यवसायबाटै जीविकोपार्जन गर्न सम्भव नभएका कारण यो पेसा लोप हुन थालेको बताउनुभयो । पछिल्लो पुस्ताका नागरिकमा आरनको काम गर्ने सिप नहुनु, यो पेसालाई राज्यले पहिचान नगरेर अपहेलना गर्ने भएका कारण आरन सङ्कटमा परेको विकको बुझाइ छ । बडीमालिका नगरपालिकाले परम्परागत सिपलाई संरक्षण गर्ने गरेर नीति तथा कार्यक्रम अवलम्बन गरेको छ तर छुट्टै नीति तथा कार्यक्रम भने नबनाएको नगरका प्रवक्ता धर्मराज पाध्यायले बताउनुभयो ।