• १३ असोज २०८१, आइतबार

अर्थतन्त्रको संरचनामा परिवर्तन गर्न आवश्यक छ : पूर्वसभामुख सापकोटा

blog

पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्नुहुँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, माघ २७ गते । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आर्थिक क्षेत्रमा र्‍याडिकल रिफर्म (अर्थतन्त्रको संरचनामा परिवर्तन) गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४ औँ साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले परम्परागत बजेट, योजना निर्माणका ढाँचाहरूमा परिवर्तन गरेर र्‍याडिकल रिफर्मको आवश्यकता रहेको बताउनुभयो ।

पूर्वसभामुख सापकोटाले चीनबाट गरिबी निवारण र आर्थिक विकासबारे धेरै कुरा सिक्न आवश्यक रहेको धारणा राख्नुभयो । चीनसँग प्रविधिका बारेमा पनि धेरै कुराहरू सिक्नुपर्ने बताउनुभयो । उहाँले सरकारले तातोपानी, केरुङ लगायतका नाकाहरू सुचारु गर्नका लागि आवश्यक काम गरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले आर्थिक क्षेत्रमा एउटा र्‍याडिकल रिफर्म गर्ने भन्नुभएको छ । त्यस अर्थमा पनि यो धेरै नै महत्त्वपूर्ण छ । परम्परागत सबै बजेट, योजना निर्माणका ढाँचाहरू र सबै परिवर्तन गरेर एउटा र्‍याडिकल रिफर्म, एउटा निरन्तरतामा क्रम भङ्ग गर्ने उहाँको जुन सोच छ, त्यो सोचलाई यो कार्यक्रमले मद्दत पुर्‍याउँछ । चीन हाम्रो छिमेकी राष्ट्र जहाँ गरिबी निवारण र आर्थिक विकासमा चमत्कार गरिरहेको छ, त्यस अर्थमा पनि हामीले त्यहाँको प्रविधि सिक्ने हिसाबले, आर्थिक विकासबाट सिक्ने हिसाबले पनि यो धेरै महत्त्वपूर्ण छ । हामीले नाकाहरू सुचारु गर्न, तातोपानी, केरुङ लगायतका नाकाहरू सुचारु गर्नका लागि धेरै मिहेनत गरेका छौँ ।’’

पूर्वसभामुख सापकोटाले कूटनीतिक कौशलबाट सीमा सम्बन्धीका सबै समस्या समाधान गर्न सकिने बताउनुभयो ।