राममणि दाहाल
हेटौँडा, माघ २७ गते । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-२ भालुखर्ककी अचेत अवस्थामा फेला परेकी एक वृद्धा महिलाको मृत्यु भएको छ ।
शुक्रबार बारीमा साग टिप्न गएको बेला अचेत हुनुभएको ६४ वर्षीया विष्णु माया लोप्चनको मृत्यु भएको हो ।
साग टिप्न जानुभएको लोप्चन अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजतलास गर्दा बारीमै अचेत अवस्थामा फेला पर्नुभएको थियो । उहाँको उपचारका लागि काठमाडौँ फर्पिङस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार शव सोही अस्पतालमा रहेको र घटना सम्बन्धमा थप बुझ्ने कार्य भइरहेको छ ।
यसैगरी, हेटौँडा उपमहानगरपालिका-११ नवलपुरस्थित उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्था नजिक बेवारिसे अवस्थामा नवजात शिशु मृत फेला परेको छ ।
भर्खरै जन्मेको जस्तो देखिने शिशु (छोरी) मृत फेला परेको खबर प्राप्त भएपछि प्रहरी टोलीले घटनास्थल सुरक्षित राखी घटनाको थप अनुसन्धान सुरु गरेको र शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको प्रहरीको भनाइ रहेको छ ।