• १३ असोज २०८१, आइतबार

कोशीमा १० सदस्यीय मन्त्रिपरिषद्

कोशीमा चार मन्त्री र दुई राज्यमन्त्रीको शपथ : सरकारले पायो पूर्णता

blog

प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनियताको शपथ लिनुहुँदै कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरु, साथमा मुख्यमन्त्री केदार कार्की। तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली 

विराटनगर, माघ २६ गते। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चार महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको छ। शुक्रबार चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरी मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको हो। 

मुख्यमन्त्री कार्कीले शुक्रबार नेपाली काँग्रेसबाट दुई मन्त्री तथा दुई राज्यमन्त्री र नेकपा (माओवादी केन्द्र)बाट दुई मन्त्रीलाई नियुक्त गरी सरकारलाई पूर्णता दिनुभयो। 

मुख्यमन्त्रीले नेपाली काँग्रेसबाट प्रदीपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री नियुक्त गर्नुभएको छ भने इन्दिरा थापा र सुनिताकुमारी गुरुङलाई राज्यमन्त्री नियुक्त गर्नुभएको छ। 

यसैगरी नेकपा माओवादी केन्द्रबाट नारायणबहादुर बुर्जामगर र राजेन्द्रकुमार कार्की मन्त्री नियुक्त हुनुभएको छ। नवनियुक्त मन्त्री सुनुवारलाई स्वास्थ्य मन्त्रालय, खत्रीलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय, बुर्जा मगरलाई सामाजिक विकास मन्त्रालय र कार्कीलाई खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी तोकिएको छ। यस्तै मुख्यमन्त्री कार्कीले समानुपातिक तर्फका सांसद इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनसरीका सांसद सुनिताकुमारी गुरुङ (राम)लाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीको जिम्मेवारी दिनुभएको छ। 

नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले र राज्यमन्त्रीलाई मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ गराउनुभयो। 

चार महिनाअघि कोशी प्रदेशका मुख्यमन्त्री बन्नुभएका कार्कीले तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्नुभएको हो। पछिल्लो विस्तारसँगै आर्थिक मामिला तथा योजना मन्त्रालयबाहेक सबै मन्त्रालयले मन्त्री पाएको छ। आर्थिक मामिला मन्त्रालय भने मुख्यमन्त्रीकै नेतृत्वमा रहनेगरी राज्यमन्त्रीलाई जिम्मेवारी तोकिएको छ। 

मुख्यमन्त्री कार्कीले शुक्रबारबाट सरकारले पूर्णता पाएको बताउनुभएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय आफूसँगै राखेर राज्यमन्त्री मात्र नियुक्त गरेपनि मन्त्रालय मन्त्रीविहीन नभएको बताउनुभयो। 

नवनियुक्त मन्त्री सुनुवार ओखलढुंगा १ बाट निर्वाचित भएर कोशी प्रदेश सरकारमा तेस्रो पटक मन्त्री नियुक्त हुनुभएको हो। यसअघि दुई पटक मन्त्री नियुक्त भए पनि अदालतको आदेशबाट सरकार विघटन हुँदा छोटो अवधिमात्र काम गर्न पाउनुभएको थियो। यस्तै उदयपुर २(२) बाट निर्वाचित हुनुभएका मन्त्री खत्री  र संखुवासभा १ बाट निर्वाचित हुनुभएका कार्की दोस्रो पटक मन्त्री नियुक्त हुनुभएको हो। 

खानेपानी सिंचाइ तथा ऊर्जा मन्त्री नारायणबहादुर बुर्जा मगर प्रदेश सभामा दोस्रो पटक निर्वाचित भई पहिलो पटक मन्त्री नियुक्त हुनुभएको हो। 

कोशी प्रदेशमा यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा नेपाली काँग्रेसका शम्शेर राई, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नेकपा माओवादी केन्द्रका गणेशप्रसाद उप्रेती र भौतिक पूर्वाधार विकास मन्त्रालयमा नेकपा एकीकृत समाजवादी पार्टीका कमलप्रसाद जबेगू मन्त्री नियुक्त हुनुभएको थियो। शुक्रबार विस्तारसँगै कोशी प्रदेशको मन्त्रिपरिषद १० सदस्यीय भएको छ।