• १३ साउन २०८१, आइतबार

‘एकल महिलालाई सहयोग गर्न प्रदेश सरकार तयार छ’

blog

शान्ति सङ्ग्रहालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शिवराज भट्ट ।

अविनाश चौधरी

धनगढी, माघ २६ गते । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले एकल महिलालाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ। 

कैलालीको कैलारी गाउँपालिका–६ मा आज बनकट्टा शान्ति सङ्ग्रहालयको उद्घाटन गर्दै उहाँले एकल महिलाले उठाउँदै आएको माग सम्बोधनका लागि तयार रहेको बताउनुभएको हो । कानुनले एकल महिलालाई केही सुविधा दिन खोजेको मन्त्रीको भनाइ छ । 

“ती सुविधा त्यति पर्याप्त नहोला तर तपाईंहरुलाई सम्बोधन गर्नु नै ठुलो कुरा हो”, मन्त्री भट्टले भन्नुभयो, “कम्ती अहिले सम्बोधन भएपछि भोलिका दिनमा तपाईंहरुलाई राम्रो सहयोग पुग्नेछ ।”

संविधानले सबैलाई समान अधिकार दिए पनि पुरुष प्रधान समाजका कारण व्यवहारिक रुपमा महिलाप्रति अलि फरक दृष्टिकोण देखिने गरेको मन्त्रीले उल्लेख गर्नुभयो । उहाँले अगाडि थप्नुभयो, “त्यसमा पनि एकल महिलालाई समस्या छ । एकातिर बालबच्चा कसरी हुर्काउने र शिक्षा दिने विषय ठुलो समस्या छ । अर्कोतिर, घरकै प्रियजनहरुले दुःख दिने प्रवृति पनि देखिएको छ ।”

यस्तो परिस्थितिलाई चिर्दै एकल महिलाहरुले सङ्गठित भएर शान्ति सङ्ग्रहालय स्थापना गर्नु ऐतिहासिक कुरा रहेको मन्त्री भट्टको भनाइ छ । सोही कार्यक्रममा प्रदेश सभा सदस्य खेमादेवी विष्टले एकल महिलालाई अरु राहतभन्दा पनि अधिकार चाहिएको बताउनुभयो । एकल महिलाको लागि आफूले पहिले सडकबाट लडेको र अहिले सदनमा लडिरहेको उहाँको भनाइ छ । “एकल महिलाका छोराछोरीले पनि एमबीबीएस पढ्न पाउने गरी व्यवस्था हुनुपर्दछ”, उहाँले भन्नुभयो । 

यस्तै, कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले अभिभावकविहीनको दायित्व स्थानीय सरकारले लिने बताउनुभयो । “जसका अभिभावक छैनन्, उनीहरुको अभिभावक स्थानीय सरकार हो”, उहाँले भन्नुभयो, “हामी नीति बनाएरै एकल महिलालाई सहयोग गर्न तयार छौं ।”

एक महिला, द्वन्द्वपीडितलाई सहयोग र पुन: स्थापनाका लागि शान्ति संग्रहालयको स्थापना गरिएको जनाइएको छ । वडा कार्यालयको १० लाख रुपियाँको सहयोगमा सङ्ग्रहालय निर्माण भएको वडाध्यक्ष प्रेम चौधरीले जानकारी दिनुभयो ।