• ९ मंसिर २०८१, आइतबार

प्रसारण लाइनको काम तीव्र

blog

सर्लाही समाचारदाता

सर्लाही, माघ २६ गते । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन अन्तर्गत सर्लाही र महोत्तरी खण्डमा धमाधम काम हुन थालेको छ । विशेष गरी यी दुई जिल्लाको  जङ्गल क्षेत्रमा तार विस्तारको कामले गति लिएको हो । 

सर्लाहीको फूलजोर चोकदेखि पूर्व र महोत्तरीको बर्दिबासदेखि पश्चिमतर्फको जङ्गलमा काम जारी रहेको हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण आयोजना ढल्केबर कार्यालयका प्रमुख श्याम यादवले जानकारी दिनुभयो । 

जङ्गल क्षेत्रमा प्रसारण लाइनको टावर निर्माण भइसकेको छ । ती टावरमा अहिले इन्सुलेटर जडान गर्ने र तार तान्ने काम भइरहेको आयोजनाले जनाएको छ । प्रसारण लाइनको टावरमा राख्नका लागि पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाही र महोत्तरी खण्डको जङ्गल क्षेत्रका ठाउँ ठाउँमा इन्सुलेटरको पोका झारिएका छन् । 

आयोजना प्रमुख यादवका अनुसार जनशक्तिलाई दुई जिल्लाको जङ्गल क्षेत्रमा ‘फोकस’ गरेर खटाइएको छ । “सर्लाही र महोत्तरीको जङ्गल क्षेत्रमा केन्द्रित भएर काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “यसअघि नै टावर निर्माण गरिसकेकाले अब तार राख्न मात्रै बाँकी छ ।” प्रसारण लाइनको लालबन्दी नगरपालिका–१२, जियाजोर क्षेत्रमा बाँकी रहेको टावर निर्माण गर्ने काम अन्तिम चरणमा पुगिसकेको आयोजना प्रमुख यादवले बताउनुभयो । 

जग्गाको मुआब्जा वितरणको विषयलाई लिएर स्थानीयबाट अवरोध हुँदा सात वर्षदेखि जियाजोर क्षेत्रमा काम रोकिएको थियो । सो आयोजनाका अनुसार यस ठाउँमा आठ वटा टावरको जग खन्न बाँकी थियो भने तीन वटा टावरको जग राखिसकेको थियो । 

विगत डेढ महिनादेखि सुरक्षाकर्मीको सहयोग लिएर बाँकी टावर निर्माणको काम पूरा हुन लागेको छ तर मुआब्जाको विवाद भने अझै मिलिसकेको छैन । जियाजोरका स्थानीयले तार पर्ने जग्गाको उचित मुआब्जा दिनुपर्ने माग गर्दै आइरहेका छन् ।

मुआब्जाको विषयमा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा अधिकारी, आयोजनाका अधिकारी, जनप्रतिनिधि र स्थानीय बासिन्दाबिच पटक पटक छलफल भए पनि सहमति भने जुट्न सकेको छैन ।