• ९ मंसिर २०८१, आइतबार

इन्जिनियरिङका सम्भावना र चुनौती

blog

कुशल इन्जिनियर र इन्जिनियरिङबिना सुन्दर संसारको परिकल्पना गर्न सकिँदैन । विज्ञान र प्रविधिको क्षेत्रमा भौतिक शास्त्रको निकै महत्व रहेको छ । कुशल इन्जिनियरले आफ्नो शिक्षा, ज्ञान, कलामार्फत संसारलाई सजाउँदै मानवलाई खुसी र सुखी बनाउन सक्छ । त्यस्तै नेपालमा पनि पूर्वाधार निर्माण, प्रविधि विकास र विविध क्षेत्रमा इन्जिनियरिङको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ । इन्जिनियरिङ क्षेत्रले विकासका लागि एक महत्वपूर्ण भूमिका निर्वाह गर्छ, जसले नेपाल जस्तो अल्पविकसित मुलुकलाई समृद्धि र प्रगतिको बाटोतर्फ डोर्‍याउँछ । 

नेपालमा इन्जिनियरिङ शिक्षाको इतिहास धेरै लामै छैन तर अहिले स्वदेशमा विभिन्न विधाका इन्जिनियरिङको पढाइ हुन्छ र विभिन्न विधाका इन्जिनियर उत्पादन भइरहेका छन् । विकास निर्माणमा मात्र नभई इन्जिनियरहरूले अन्य विधा जस्तै प्रविधि विकास, अध्ययन अनुसन्धानका कार्यमा पनि आफ्नो दक्षता प्रदर्शन गरिरहेका छन् । त्यस्तै उनीहरू आआफ्नो क्षेत्रमा उद्यमशील पनि बन्दै गइरहेका छन् । यसरी इन्जिनियरका लागि थुप्रै अवसर छन् । विश्वमै नेपाली इन्जिनियरहरूको स्तर निकै माथि रहेको छ, जुन कुरा इन्जिनियरले मात्रै नभई देशले नै गौरव गर्नुपर्ने विषय हो । विभिन्न देशका इन्जिनियरिङ क्षेत्रको माथिल्लो ओहोदामा नेपाली इन्जिनियरले नेतृत्व गरेका खबर पनि हामीले सुनेका छौँ ।

आजभन्दा १५ वर्षअघिको अवस्था हेर्ने हो भने सिभिल र आर्किटेक्ट इन्जिनियरलाई विशेष प्राथमिकतामा राखिन्थ्यो तर अहिले अवस्था फेरिएको छ । कम्प्युटर, इलेक्ट्रिकल, मेकानिकल आदि । स्वदेश र विदेशमा पढेका इन्जिनियरिङको विधा हेर्ने हो भने नेपाल इन्जिनियरिङ काउन्सिलमा ४४ वटा विधा दर्ता भएका छन् । सबै विधाका इन्जिनियरहरूले उत्तिकै प्राथमिकता पाएका छन् । 

नेपालले विकासको गति लिइरहेको छ । सडक, पुल, सुरुङ, रेलमार्ग, विमानस्थल, जलविद्युत् केन्द्र, नवीकरणीय ऊर्जा, भवनलगायत संरचना निर्माणमा नेपालका इन्जिनियर सक्रिय छन् । धेरै जसो स्वदेशमै पढेका इन्जिनियरले काम गरिरहेका छन् । सूचना प्रविधिको क्षेत्रमा हेर्ने हो भने नेपालका जनशक्ति विश्वमै उम्दा हुँदै गएका छन् । अब नेपाली इन्जिनियरहरूले स्वदेशमै बसेर कृषिको आधुनिकीकरण, यान्त्रीकरण तथा बायोमेडिकल इन्जिनियरिङ क्षेत्रमा पनि आफ्नो दक्षता देखाउनुपर्ने बेला आएको छ ।

इन्जिनियरको हकहितका लागि लड्ने तथा उनीहरूको कार्यक्षमता बढाउने हेतुका साथ सन् १९६२ मा स्थापित नेपाल इन्जिनियर्स एसोसिएसनले विभिन्न सकारात्मक काम गर्दै आइरहेको छ । यस संस्थाबाट धेरै इन्जिनियरले लाभ लिई रहेका छन् । आफ्नो सिप र कार्यक्षमतालाई तिखारेर उनीहरू उद्यमशील पनि बनिरहेका छन् । विकास निर्माणका काम अगाडि बढ्ने, प्रविधिको विकास हुँदै जाने तथा अनुसन्धानको क्षेत्रमा पनि विकास हुने हो भने नेपाली इन्जिनियरले स्वदेशमै बसेर देशका लागि केही गर्न सक्छन् तर स्वदेशमा बस्ने वातावरण बन्नु पर्छ । सरकारी क्षेत्रमा कार्यरत इन्जिनियर र निजी क्षेत्रमा कार्यरत इन्जिनियरलाई समाजले हेर्ने दृष्टिकोण फरक छ । यसले इन्जिनियरिङ क्षेत्रभित्र नै इन्जिनियरका दुई वर्ग खडा भएका छन् । समाजको यो दृष्टिकोणमा परिवर्तन हुनु पर्छ । इन्जिनियरको हक, हितका लागि लडेका संस्थाले यो भिन्नतालाई परिवर्तन गर्न सक्नु पर्छ । त्यस्तै निजी क्षेत्रमा काम गर्ने इन्जिनियरको तलब तथा सेवा, सुविधा केही समयअघि तोकिए पनि कार्यान्वयन हुन सकेको छैन । 

स्थानीय तहमा इन्जिनियरहरूले नेतृत्व गर्न पाउनु पर्ने ठाउँमा पनि नेतृत्व गर्न पाइरहेका छैनन् । स्थानीय तहमा नेतृत्व गर्ने जनप्रतिनिधिले यो विषयमा ध्यान दिनु पर्छ । इन्जिनियरलाई नेतृत्वदायी भूमिका दिनुपर्नेमा झन् उल्टै इन्जिनियरलाई हुने नहुने सबै काम गर्न दबाब दिइन्छ । यी काम नगर्दा इन्जिनियरले विभिन्न झमेला बेहोर्नु परिरहेको छ । 

विश्वले प्रविधिको क्षेत्रमा निकै फड्को मारेको छ । नयाँ–नयाँ आविष्कार भइरहेका छन् । यसलाई ध्यान दिँदै नयाँ प्रविधिमा इन्जिनियर सक्षम बन्नु पर्छ । अध्ययन, अनुसन्धानको पाटोलाई पनि सँगै लिएर जानु पर्छ । सरकारले पनि यसमा सघाउनु पर्छ । नत्र इन्जिनियरहरू विदेश पलायन हुन सक्छन् । अध्ययन र अनुसन्धानका लागि नै अत्याधुनिक प्रयोगशाला र अन्य उपकरण तथा सिप सिकाउने थलो हुनु पर्छ । यसले बिदेसिने विद्यार्थी नेपालमा नै बस्ने वातावरण बन्छ । यसका निम्ति इन्जिनियरिङसँग सम्बन्धित संस्थाले समन्वयकारी भूमिका खेल्नु पर्छ । नेपाल सरकार संवेदनशील हुने हो भने यो समस्याको समाधान पक्कै हुन्छ । विभिन्न सरकारी र निजी क्षेत्रमा काम गरिरहेका इन्जिनियरलाई नयाँ प्रविधि र इन्जिनियरिङ विधिसँग घुलमिल गराउनु पर्छ । अन्तर्राष्ट्रिय स्तरमा गरिने अभ्यास तथा तालिम स्वदेशमै उपलब्ध गराउनु पर्छ । 

पछिल्लो समय इन्जिनियरिङ पढाइतिर विद्यार्थीको आकर्षण घट्दो अवस्थामा रहेको आँकडा छ । के कति कारणले यो अवस्था सिर्जना भएको हो यसतर्पm सरेकारवालाको ध्यान जानु पर्छ । स्वदेशमै रोजगारीको अवस्था सिर्जना हुन नसक्नु र रोजगारी पाएकाको पनि श्रमको उचित मूल्याङ्कन नहुनुले यस क्षेत्रतर्फ युवाको आकर्षण घट्नुको मुख्य कारण औँल्याउन सकिन्छ । प्राविधिक शिक्षालाई राज्यले प्राथमिकता दिएको छ तर प्राविधिक क्षेत्रकै उच्च जनशक्ति नै पीडित हुनु विडम्बना हो । त्यसैले नीतिगत व्यवस्था र कार्यान्वयनबिच भएका बेमेल हटाउने काममा अब ढिलाइ हुनु हुँदैन । 

इन्जिनियरिङ क्षेत्रको समस्या र समाधानमा यससँग सम्बन्धित सरोकारवाला सबैको उत्तिकै दायित्व छ । यो कुरालाई सबैले मनन गर्नु पर्छ । सुधारका नीति तथा कार्यक्रम ल्याउनु पर्छ । नत्र ठुलो मात्रामा प्राविधिक जनशक्ति पलायन हुन सक्छ । यसले देशको विकास निर्माण तथा प्रविधिको विकासमा ठुलो असर गर्छ । यो समस्या विकासको बाधकको रूपमा खडा हुन सक्छ । 

राज्य र इन्जिनियरिङसँग सम्बन्धित निकायले यो स्थितिलाई न्यूनीकरण गर्नका लागि विभिन्न उपाय अपनाउनुपर्ने देखिन्छ । इन्जिनिनियर भएपछि पर्याप्त कामका साथै फिल्डको व्यवस्था हुनु पर्छ । यसले यो क्षेत्रमा दक्ष इन्जिनिनियरहरू उत्पादन हुँदै जान्छन् । विलक्षण क्षमता भएका इन्जिनियरलाई अनुसन्धानका क्षेत्रमा प्रेरित गर्न राज्यले आवश्यक बजेट उपलब्ध गराउनु पर्छ । नयाँ प्रविधि भित्र्याउन र त्यसलाई अपनाउन नयाँ एकाइको व्यवस्था हुनु पर्छ र प्रविधि हस्तान्तरण गर्दै जानु पर्छ । प्राविधिकको मनोबल उच्च राख्न प्राविधिक जनशक्ति बढी हुने कार्यालयमा इन्जिनियर नै प्रमुख हुने नियम बनाउनु पर्छ । सरकारी कार्यालयमा काम गर्दा कार्यालयबाट हुने गरेको अनावश्यक झन्झटलाई अन्त्य गरिनु पर्छ । यसले इन्जिनियरको मनोबल उच्च हुनुको साथै यस क्षेत्रमा काम गर्न नयाँ पुस्तालाई पनि हौसला मिल्छ । इन्जिनियरिङ पेसामा मौलाउँदो विकृतिलाई कम गर्दै आफ्नो पेसाको गौरव कायम राख्नका लागि इन्जिनियरहरूले पनि आचारसंहिता पूर्ण पालना गर्नु परम कर्तव्य हो । अनि मात्र इन्जिनियरिङ क्षेत्र बलियो, आत्मविश्वासी र विश्वमा आएको नयाँ प्रविधिमैत्री भएर अब अगाडि बढ्न सक्छ । 

Author

निरोज लामिछाने