• १३ साउन २०८१, आइतबार

तरकारी खेतीमा आत्मनिर्भर बन्दै

blog

तरकारी खेतीमा काम गर्दै चाँदबेलाका कृषक । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र, माघ २४ गते । 
सुनसरीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने चांदवेलाका कृषकहरू मौसमी र बेमौसमी तरकारी खेती गरेर आत्मनिर्भर बन्न थालेका छन् ।

चांदवेला क्षेत्रमा विभिन्न समयमा कृषिसँग सम्बन्धित आयोजनाहरूले प्राविधिक ज्ञान दिएपछि कृषक तरकारी खेतीतर्फ आकर्षित भएको कृषक क्षेदन चौधरीले बताउनु भयो ।

चौधरीका अनुसार पहिला एक, दुई कठ्ठामा तरकारी लगाउँदै आएका कृषकहरूले अहिले पाँच कठ्ठाभन्दा बढी क्षेत्रफलमा तरकारी लगाउँदै आएका छन् । 

स्थानीय डिल्लीराम चौधरीले अहिले आठ कठ्ठामा टमाटर, काउली, बन्दा र क्यापसीकन लगाउनु भएको छ । उहाँले प्लाष्टिक मल्चिङ्ग ड्याङ्गमा लगाएर उन्नत तरिकाबाट तरकारी खेती गर्दै आएको बताउनु भयो । “मेरो जागिर र आम्दानी भनेकै तरकारी खेती हो ।,’’ कृषक चौधरीले भन्नुभयो,  परिश्रम गरे फाइदा हुन्छ । मालिक बनेर तरकारी खेती गरे फाइदा हुँदैन ।”

वार्षिक दुई लाख आम्दानी तरकारी खेतीबाटै गर्दै आएको डिल्लीरामको भनाइ छ । पाँच वर्षअघि वर्ल्ड भिजनको सिप परियोजनाले समूह बनाएर तरकारी खेती गर्ने समूहलाई कृषि सामग्री र प्राविधिक सहयोग गरेपछि कृषकहरूले तरकारी खेती गर्न सुरु गरेका थिए । परियोजनाले मल्चीङ्ग, सिचाई बोडिङ्ग  प्राविधिक ज्ञान दिएपछि किसानहरू मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका छन् । 

किसानले उत्पादन गरेको तरकारी इनरुवा, झुम्का, इटहरी, तरहरा र स्थानीय हाट बजारमा लगेर बेच्दै आएको क्षेदन चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “खेती नगर्ने र देखासेखी गर्न खोज्नेहरूले तरकारी खेतीमा फाइदा छैन भन्छन् । तर तरकारी खेतीमा भिजेका कृषकलाई मात्र फाइदा लिने गरेका छन् ।” क्षेदनको घरपरिवार ३० वर्षदेखि तरकारी खेतीमै रमाई रहेका छन् ।

पछिल्लो समय जलवायु परिवर्तनसँगै रोग किराको प्रकोप रहेकाले तरकारी किसानहरूले सोचे जतिको फाइदा लिन सकिरहेका छैनन् । मौसमी तरकारी खेतीको मूल्य कम हुने र बेमौसमि तरकारी खेतीको मूल्य बढी हुने भएपछि व्यावसायिक कृषकहरू बेमौसमी तरकारी खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

नेपालमा बेमौसमी तरकारी खेती ज्येष्ठ, असारदेखि मङ्सिरसम्म गर्न सकिन्छ । मौसमी तरकारीलाई पनि अघि वा पछि गरेर तरकारी उत्पादन गरी कृषकहरूले तरकारीको बढी मूल्य लिने गरेका छन् ।