• १३ साउन २०८१, आइतबार

तनहुँमा ‘अफ्रिकन स्वाइन फिभर’ रोगको महामारी

blog

अफ्रिकन स्वाइन फिवरले तनहुँमा मरेको बङ्गुर । तस्बिर : गोरखापत्र

अमरराज नहर्की

तनहुँ, माघ १९ गते । तनहुँमा  जिल्लामा ‘अफ्रिकन स्वाइन फिभर’ रोगले बङ्गुर मर्न थालेपछि किसानहरू चिन्तित भएका छन् । भ्याक्सिन नभएकाले रोग नियन्त्रणमा लिन नसक्दा कतिपय किसानको बङ्गुर मरेर खोर रित्तिन थालेको छ ।

रोगले गर्दा एक साताको अवधिमा ३४ वटा बङ्गुर मरिसकेको छ । यस रोग म्याग्दे गाउँपालिका–४ कुमाल गाउँकी बालकुमारी मल्लको १७ वटा बङ्गुर मरेको छ । वयस्क भएको बङ्गुर सो सङ्ख्याको मर्दा ११ लाख रुपियाँभन्दा धेरैको नोक्सान भएको मल्लले जानकारी दिनुभयो । 

बङ्गुर मरेपछि फम सञ्चालन गर्न लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको मल्लले बताउनुभयो । सरकारले नोक्सान व्यहोर्ने कृषकलाई राहत दिनु पर्ने उहाँले बताउनुभयो । मल्लले भन्नुभयो, ‘‘क्षतिपूर्ति पाइएन भने पेसाबाट पलायन हुने अवस्था आउँछ, मूल्याङ्कन गरेर क्षतिको पुरै रकम बिमाबाट पाउने व्यवस्था हुनुपर्छ ।’’

म्याग्दे गाउँपालिका, व्यास नगरपालिका, भीमाद नगरपालिका र भानु नगरपालिकामा गरी हाल सम्म ३४  बङ्गुर मरिसकेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँमा प्रमुख डा।राजेशकुमार चौधरीले जानकारी दिनुभयो । थप क्षति नहोस् भन्नको लागि अगुवा बङ्गुर पालक कृषकहरूलाई मङ्गलबार प्रशिक्षण दिइएको उहाँले जानकारी दिनुभयो ।   

फार्म÷खोरमा जैविक सुरक्षाका उपायहरू अवलम्बन गर्ने, अनावश्यक रूपमा अरूको फार्म/खोरमा नजाने, फार्म/खोरको काम गर्दा लगाएको लुगाकपडा र जुत्ताचप्पल अरू बेला प्रयोग नगर्ने, खोरको काम सकेपछि साबुन पानीले हातखुट्टा राम्ररी धुने, रोगी बङ्गुर र यसको मासु ओसारपसार तथा बिक्रीवितरण नगर्ने, नियमित रूपमा फार्म/खोर वरपर चुना, फिनेल वा निसङ्क्रमण गर्ने औषधि छर्ने जस्ता उपाय अवलम्बन गर्न सूचित गरिएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी  फार्ममा भएका सबै बङ्गुर र फोहोर हटाई खोर भित्र र वरपर निःसंक्रमण गरी खोर खाली राख्न,  घर वा होटेलको फोहोर नखुवाउन आग्रह गरिएको छ । खुवाउनै परेमा कम्तीमा आधा घण्टासम्म उमालेर, खुवाउने र बङ्गुरको मासु मिसिएको खानेकुरा नखुवाउने मरेका बङ्गुर वा काटिएको बङ्गुरको मासु, हाड र अन्य फोहोरहरू जथाभाबी खुल्ला रूपमा वा खोलानाला तथा पानीको स्रोतमा नफाल्न केन्द्रले आग्रह गरेको छ ।

कुनै किसिमको स्वास्थ्य समस्या वा दिइएका लक्षणहरू देखा परेमा तुरुन्तै नजिकैको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र वा पशु चिकित्सक/प्रविधिकलाई खबर गर्न आग्रह गरिएको छ ।  

एकैपटक धेरै बङ्गुरमा रोग देखा पर्ने र मर्ने,उच्च ज्वरो आउने, दानापानी नखाने, उभिन नसक्ने र कमजोर हुने,कान र थुनुनोको छालामा रातो वा निलो डामहरु देखिने र पछि शरिरभरि रातो हुने, नाक र गुद्धद्वारबाट रगत बग्ने, छिटोछिटो श्वास फेर्ने, उल्टी गर्ने र गर्भिणी बङ्गुर तुहाउने जस्ता लक्षण देखा पर्ने केन्द्रले जनाएको छ । 

बङ्गुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा घाँटीमा विभिन्न खालका दाग खटिरा देखिएपछि काठमाडौँमा ल्याब परीक्षण गर्दा ‘अफ्रिकन स्वाइन फिवर’ भएको पुष्टि भएको केन्द्रका पशुस्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले बताउनुभयो ।